तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालयको नेतृत्वमा अस्पतालको अनुगमन

भक्तपुर । स्वास्थ्य कार्यालय भक्तपुरले विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर जिल्लामा रहेका अस्पतालको अवस्था र तयारी बारेमा बुझ्न अनुगमन थालेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले पहिलो दिन कारोना संक्रमणको हव अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताल दुधपाटी, डा.ईवामुरा अस्पताल सल्लाघारी, सिद्धीस्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन र सहजीकरण गरेको हो ।

आइसोलेसन र आसियु सञ्चालन तथा तयारीको अवस्था र मापदण्ड तथा अस्पतालको दैनिक सेवाका बारेमा बुझ्न र सहजीकरण गर्न अनुगमन थालिएको मिजारले बताउनुभयो ।

भक्तपुरका आठ वटा अस्पतालमा ९८ शैयाको आइसोलेसन वार्ड तयार गरिएको छ ।

हाल भक्तपुर अस्पतालमा १०, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा ६, मध्यपुर अस्पताल ठिमीमा प्रस्तावित आठ, काठमाडौं मेडिकल अस्पतालको दुवाकोट शाखामा ७२, डा. इवामुरा मेमोरियलमा छ, नागरिक अस्पताल गठ्ठाघरमा तीन र सिद्धिस्मृति अस्पतालमा एक गरी ९८ शैयाको आइसोलेसन वार्ड तयार गरिएको स्वास्थ्य प्रमुख मिजारले बताउनुभयो ।

यसैगरी यिनै अस्पतालहरुको समन्वयमा थप २७ शैयाको आइसोलेसन वार्ड समेत बिस्तार गर्न सकिने अवस्था रहेको उहाँको भनाई छ ।

यिनै अस्पतालमा २३ शैयाको आइसीयु सञ्चालनको तयारी अवस्थामा रहेको र बाँकी १६ शैया संचालनको लागि प्रस्ताबित अबस्थामा रहेका छन् ।

जिल्लाको हव अस्पतालको रुपमा रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेसन शैया बढाउन सकिने गरी तयारी अघि बढाइएको जानकारी दिनुभयो ।

भक्तपुर अस्पतालले नै १९ शैयाको सिंगो मेडिकल वार्डलाई आइसोलेसन वार्डमा परिणत गर्ने गरी कार्य अघि बढाइएको डा.गौतमले बताउनुभयो ।

मेसु डा. गौतमले आवश्यक परे त्यहीबाट संक्रमितको सम्पूर्ण स्वास्थ्य परीक्षणको व्यवस्था समेत गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा संक्रमितहरु आइहालेको अवस्थामा उचित उपचारको लागि आवश्यक स्वास्थ्य जनशक्तिलाई अस्पतालमै बस्ने व्यवस्था समेत गरिएको छ ।

काठमाडौं मेडिकल अस्पतालका डा.बिनीता प्रधानले सरकारको स्वीकृति , सहयोग र सहजीकरण पाए कोभिड–१९ का बिरामी उपचारमा प्रयोग गर्न परेमा बिशेष अस्पतालको रुपमा सेवा गर्न पनि तयार रहेको बताउनुभयो ।

यसैगरी डा.ईवामुरा अस्पतालका सञ्चालक रञ्जित मारिखुले संकटमा बेला अस्पतालले बुताले भ्याएसम्म सक्दो स्वास्थ्य सेवा प्रदान गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button