गुणस्तरहीन नुन वितरण
सिञ्जा-कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समयमा यहाँको हिमा गाउँपालिकाले नेपाल साल्ट ट्रेडिङमार्फत नागरिकलाई बाँडेको नुन मिति नाघेको भेटिएपछि स्थानीयवासीबाट चर्को आलोचना तथा विरोध भएको छ ।
नेपाल साल्ट ट्रेडिङ कार्यालय सिञ्जा डिपोबाट वितरण गरेको नुन सन् २०१६ र २०१७ को भएको भन्दै विरोध भएपछि स्थानीय प्रशासनले तीन दिनमा गुणस्तरबारे जानकारी दिन साल्ट ट्रेडिङलाई अन्तिम चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओमप्रकाश देवकोटाले विज्ञप्ति जारी गरी वितरित नुनको गुणस्तरण सम्बन्धमा साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड जुम्लालाई लेखिएको पत्रमा हिमा गाउँपालिकाले वितरण गरेको नुनको जिल्ला प्रहरी कार्यालयको बड्की र जुगाँड प्रहरी चौकीको टोलीले अनुगमन गरेको र दुई घरमा नुनको प्याकेट हेर्दा दुई वर्षसम्म नुन प्रयोग गर्न उपयुक्त हुने उल्लेख भएको तर सन् २०१६ र २०१७ मा उत्पादित नुन रहेको भेटिएको जानकारी गरिएको छ ।
अर्को व्यवस्था नभएसम्म नुन वितरण नगर्नु भन्दै गाउँपालिकालाई बोधार्थ दिइएको छ । यसैगरी वितरित नुनको गुणस्तरको आधिकारिकता सम्बन्धमा नेपाल साल्ट ट्रेडिङ नेपालगञ्जलाई समेत बोधार्थ दिइएको छ ।
यसैगरी प्रशासनले गृह मन्त्रालय शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शााखालाई पनि बोधार्थ दिएको छ । हिमा गाउँपालिका–१ बड्की निवासी प्रतिभा शाहीले जिल्ला प्रशासन कार्यालयलाई मिति छानबिन गरी पाऊ भन्दै लेख्नुभएको निवेदन सामाजिक सञ्जालमा भाइरल भएको छ ।
साल्ट ट्रेडिङ जुम्लाका निमित्त कार्यालय प्रमुख खगेन्द्रबहादुर मल्लले गाउँपालिकालाई पत्र लेखेर प्रतिक्रिया दिनुभएको छ । साल्ट ट्रेडिङले लेखेको पत्रमा ५८५ क्विन्टल नुन हिमा गाउँपालिकालाई उपलब्ध गराइएको र केही वडामा केही परिमाण सन् २०१६ र २०१७ को वितरण भएको जानकारी आएकामा उपभोक्तालाई शङ्का लागेमा खाद्य प्रविधि तथा गुणस्तर विभागमा ल्याब टेष्ट गर्न सकिने उल्लेख छ । यता हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले जनतालाई हरेक घरधुरीमा २५ केजी नुन वितरण गर्ने निर्णयानुसार वितरण गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्