तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका स्वास्थ्यचौकीमा उपकरण नहुँदा समस्या

पर्वत । पर्वतको जिल्ला अस्पताल बाहेक अन्य ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा कोरोनाका त्रासका कारण स्वास्थ्यकर्मीहरुलाई बिरामीहरुको उपचारमा समस्या भएको छ ।

जिल्लामा दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र र ५२ वटा स्वास्थ्य चौकीमा सबैभन्दा समस्या थर्मल गनको अभाव रहेकोले ज्वरोका बिरामी जाँच्न हुने हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

थर्मल गन नहुँदा डिजिटल थर्मामिटर नै प्रयोग गर्दै आएको खौलालाँकुरी स्वास्थ्यचौकीका इन्चार्ज श्यामकुमार यादवले बताउनुभयो ।

उहाँले कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरुलाई जाँच र उपचार गर्दा समस्या भएकोे बताउनुभयो ।

ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा मास्क, ग्लोब्स, गगल्स, बुट लगायतका सामाग्रीहरु पनि प्रर्याप्त छैनन् । जिल्लाका आधा दर्जन शहरी स्वास्थ्य केन्द्र छन् । पिपिईको अभावले ति संस्थाले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरु कुश्मा तिरै पठाउँदै आएका छन् ।

कुश्मा नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव नभएपनि थर्मल गनको अभाव रहेको जनाएको छ । तर, खरिद गरिएकाले अबको दुई÷चार दिनमा समस्या समाधान हुने नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्यचौकीमा सरकारले निःशुल्क उपलब्ध गराउने ४७ प्रकारका औषधीहरुको भने अभाव नरहेकोे बताउनुभयो ।

फलेवास नगरपालिकाका स्वास्थ्य संयोजक रुद्रप्रसाद शर्माले आवश्यकता हेरेर पिपिई उपलब्ध गराएपनि सबै स्वास्थ्यचौकीहरुमा जाँच र उपचारका लागि उपकरण अभाव रहेको बताउनुभयो ।

उहाँले फलेवासको खानीगाउँमा रहेको धुलिखेल अस्पतालमा बाहेक अन्य स्वास्थ्य चौकीहरुमा थर्मल गन नरहेको जानकारी दिनुभयो ।

ज्वरो, खोकी, रुघा जस्ता लक्षण भएका बिरामीहरुलाई जिल्ला अस्पतालमा रिफर गर्न चौकीहरुलाई भनिएको शर्माले बताउनुभयो ।

जिल्लाको मोदी, विहादी, जलजला, महाशिला र पैयुँ गाउँपालिकाका स्वास्थ्यचौकीमा ग्लोव्स, मास्क, बुट समेतको अभाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button