तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन उल्लङ्घन गर्ने दुई हजार ६०० बढी कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ६५९ महिलासहित दुई हजार ६८५ जनालाई आज कारवाही गरिएको छ ।

सोही क्रममा २९७ दुई पाङ्ग्रे र २४ चार पाङ्ग्रे गरी ३२१ सवारी साधनलाई पनि नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट सबैभन्दा बढी दुई हजार १५७ जनालाई नियन्त्रणमा लिइएको थियो ।

यसैगरी ललितपुरबाट ४८० र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको थियो । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गतेदेखि लागू हुनेगरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेको थियो ।

उक्त आदेश उल्लङ्घन गर्नेलाई तीन घण्टा कोरोनाका बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाका लागि गरिएको नभएर सम्पूर्णको सुरक्षाका लागि भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button