तपाईँ सुन्दै हुनुहुन्छः

खुला रुपमा तरकारी विक्री वितरणमा प्रतिबन्ध

वीरगञ्ज । लकडाउनको अवज्ञा गर्ने क्रम बढदै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति पर्साले वीरगञ्ज तथा पर्सा जिल्लामा खुला रुपमा तरकारी विक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

खुला स्थानमा लाग्ने तरकारी बजार समेत रोक लगाईएको र सटरमा राखेर व्यवस्थित तरिकाले तोकिएको मापदण्ड अनुसार बिहानदेखि ३ बजेसम्म भने नगरपालिकाका विभिन्न वडाले तोकेका विक्री केन्द्रमा तरकारी विक्री गरिने व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

बिहानीको समयमा एक मुठा साग लिन समेत दर्जनौ मानिसहरु हुल बाँधेर निस्कन थालेपछि तरकारी विक्री वितरणमा कडाई गरिनुका साथै खुला रुपमा तरकारी विक्री वितरण गर्नेलाई संक्रमण रोग ऐन २०२० अन्तरगत थुनामा राखि कडा कारवाही गरिने चेतावनी प्रहरी उपरिक्षक पन्तले दिनुभयो ।

अधिकांश व्यक्तिलाई पैसाबाट समेत कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जानकारी नभएको र पैसा सबै भन्दा बढी प्रचलनमा रहेको खतरनाक संक्रमण भएको हुँदा यस तर्फ सचेत हुन समेत आम उपभोक्तालाई प्रहरी उपरिक्षक पन्तले आग्रह गर्नु भयो ।

वीरगञ्जमा विशेष गरी तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको खरिद विक्रीका लागि कोरोना भाइरसको उच्च जोखिममा रहेका बुढापाका व्यक्तिहरु निस्कने गरेको र उनिहरुलाई आईन्दा घरबाट नस्किन समेत प्रहरी उपरीक्षक पन्तले चेतावनी दिनुभयो ।

अत्यावश्यक रुपमा वाहिर निस्किनु परेमा निस्कने व्यक्तिले आफ्नो घर ठेगाना खुल्ने परिचय पत्र वा नागरिकता लिएर हिडन एसपी पन्तले आग्रह गर्नु भयो ।

उहाँले अत्यावश्यक रुपमा हिडन परेमा प्रहरी कन्ट्रोलको १०० नम्बर तथा पर्सा प्रहरी सहायता कक्ष हेल्प डेस्कको ९८४४९८२७९९ र ९८४४९८२७९० नम्बरमा फोन गरेर मात्र वाहिर निस्कन आम नगरवासी तथा जिल्ला वासीलाई आग्रह गर्नु भएको छ ।

विना कारण हिडेमा त्यस्ता व्यक्तिलाई समेत अब संक्रमण रोग ऐन २०२० अन्तरगत थुनामा राखि कडाकारवाही गरिने चेतावनी दिदै विना काम सवारी चलाएर हिडेको भेटिएमा अब लकडाउन अवधिभर सवारी साधन जफत गरिने तथा व्यक्तिलाई कानुनी कारवाही गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button