संघीय संसद सचिवालयले सरकारी राहत कोषमा एक करोड पठायो
काठमाडौं । संघीय संसद सचिवालयले नेपाल सरकारले स्थापना गरेको कोरोना सम्बन्धी केन्द्रीय राहत कोषमा पहिलो चरणमा आज एक करोड बढि रकम जम्मा गरेको छ ।
सचिवालयले महालेखा नियन्त्रकको कार्यालय मार्फत आज एक करोड एक लाख ३२ हजार आठ सय रुपैंया कोषमा पठाएको सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देलले जानकारी दिनुुभयो ।
आज पठाइएको रकम प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहालले यस अघि घोषणा गर्नुभएको एक महिनाको पारिश्रमिक बराबरको रकम पठाइएको छ ।
यस्तै, नेकपा संसदीय दलका एक सय ९५ जना सांसदको आधा महिनाको तलब बराबरको रकम, नीजि सचिवालय, स्थाई तथा करार कर्मचारीका तर्फबाट गरिएको योगदानको रकम पनि पठाइएको छ ।
पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद प्रदिप यादव र राष्टिय जनमोर्चाकी सांसद दुुर्गा पौडेलको एक महिना बराबरको तलब पनि कोषमा पठाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार बाँकी सांसदहरुले घोषणा गर्नुभएको राहत रकम भने अर्को महिना जम्मा हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्