कोरोनाविरुद्ध प्रकृति प्रयोग
कोरोना विषाणुको संक्रमणबाट बच्न बन्दाबन्दीमै बसेको दुई हप्ताभन्दा बढी भइसक्यो । यो बन्दाबन्दी बैशाख ३ गतेसम्म लम्बिने भएको छ । पछिल्लो समय मुलुकमा संक्रमितको संख्या बढ्दै जानु खतराको संकेत हुनसक्छ । यो बेलामा हामी सगज भएनौं भने यसले ठूलो विनास निम्त्याउने छ । कोरोना विरुद्ध अहिलेसम्म औषधि, खोप आदि पत्ता नलागिसकेको अवस्थामा हामीले मुख्य रुपमा हाम्रो समुचित खानपानमै जोड दिन जरुरी देखिन्छ ।
आधुनिक औषधि विज्ञानमा फड्को मारिरहेका विकसित मुलुकहरुले समेत कोरोना भाइरसविरुद्धको औषधि पत्ता लगाउन नसकिरहेको बेला हिमवत्खण्डमा रहेका जडिबुटीहरुको प्रयोग गरेर कोरोना भाइरसको संक्रमणबाट बच्न सहायक सिद्ध हुने आयुर्वेद तथा प्राकृतिक चिकित्साका ज्ञाताहरु बताउछन् ।
प्राकृतिक चिकित्साका अध्येता डा. हरिप्रसाद पोखरेल शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुहुन्छ । हाम्रा घरआँगनमा पाइने जडिवुटीहरुको समुचित प्रयोग गर्न जाने कोरोना विरुद्धविषाणु विरुद्ध लड्न सक्ने उहाँ बताउनुहुन्छ । डा. पोखरेलका अनुसार बेसार, यष्टिमधु अर्थात् जेठीमधु, अश्वगन्धा, मरिच, केसर, अदुवा, लसुन, चिराइतो, टुँसाएका दलहन, कोदो, फापर, जौं लगायतका जडीबुटी तथा खाद्यान्न लगायतले हाम्रो जीवनीतत्वलाई जगाउन मद्दत पुर्याउछन् जसले गर्दा हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने गुण र Antimicrobial (सूक्ष्मजीव निवारक), Antiviral (विषाणुरोधी) गुण भएका विभिन्न जडीबुटी प्रयोग गर्न सन्देश जारी गरेको छ ।
विभागले गुडुची अर्थात् गुर्जो ५ ग्राम आधा लिटर पानीमा पकाएर आधा बाँकी रहदाँ चियाजस्तै प्रयोग गर्ने, असुराको पात र बेसारलाई एक लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चिया जस्तै प्रयोग गर्ने, सुठो, मरिच, पिप्ला २ ग्राम र तुलसीको पात ५ वटा १ लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चियाजस्तै प्रयोग गर्ने, तेजपात र दालचिनी २।२ ग्राम आधा लिटर पानीमा पकाएर चियाजस्तै प्रयोग गर्न र नियमित रुपमै योग तथा प्राणायाम गर्नुका साथै नियमित योग प्राणायाम गरी शरीरलाई उर्जाशील बनाइराख्नुपर्ने जसले गर्दा मानवीय शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढ्ने जनाएको छ ।
हाम्रा घरआँगनमा पाइने जडिवुटीहरुको समुचित प्रयोग गर्न जाने कोरोना विषाणु विरुद्ध लड्न सक्ने गरी शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।
हिमवत्खण्डमा यी सबै जडीबुटी तथा खाद्यान्नहरु सहजै उपलब्ध छन् । तर यिनको संरक्षण र सदुपयोग गर्ने ज्ञानको अभाव देखिन्छ । हाम्रो जीवनशैली दिनदिनै प्रकृतिबाट टाँढिंदै छ । मान्छे प्रकृतिबाट जतिसुकै टाँढिए पनि उसले उपभोग गर्ने हरेक कुराको स्रोत प्रकृति नै हो । तर, अहिले यी जडिबुटीहरुको प्रयोग र संरक्षणमा हाम्रो ध्यान गएको देखिँदैन ।
यी जडीबुटीहरु रोग लागिसकेपछि तत्कालै रोग निवारण गर्ने एलोपेथिक औषधिहरु जस्ता नभए पनि दैनिक जीवनमा उपयोग गर्दा रोगै लाग्न नदिने औषधीयगुणयुक्त छन् । उच्च हिमाली क्षेत्रबाहेक हाम्रो देशका सबैजसो क्षेत्रमा माथि भनिएका जडीबुटीको उत्पादन गर्न सकिने विज्ञहरुले सुझाएका छन् । त्यसैले हाम्रै प्रकृतिमा रहेका जडीबुटी प्रयोग गरी आफूसँग रोगप्रतिरोधात्मक क्षमता बढाउनु अहिलेको आवश्यकता बनेको छ ।
(लेखिका रेडियो नेपालको सम्पादक एवं संस्कृत विश्वविद्यालयको उपप्राध्यापक हुनुहुन्छ ।)
प्रतिक्रिया राख्नुहोस्