आवत जावत रोक्न पुल नै भत्काइयो
अछाम । आवतजावत रोक्न अछाम र बाजुरा जिल्ला जोड्ने झोलुंगे पुल भत्काइएको छ । कोरोना भाइरस(कोभिड–१९)को संक्रमणलाई फैलिन नदिन र सुरक्षित रहन भन्दै दुई जिल्ला जोड्ने पुल भत्काइएको हो ।
अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटी बगुडा र बाजुरा बुढीगंगा नगरपालिका बार्हबिस जोड्ने बुढीगंगा नदी माथीको झोलुंगे पुलका केही प्लेट खोलेर आवतजावत अवरुद्घ पारिएको हो ।
सरकारले हालै लकडाउनलाई कडाइ गरि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने निर्णय गरेपनि बाजुरा र अछाम जिल्लाका स्थानीयको उक्त पुलबाट आवतजावत नरोकिएपछि यस्तो गरिएको मेल्लेख गाउँपालिकाले जनाएको छ ।
स्टील प्लेटका नट खोलेर प्लेट निकालेर पुलमाथि त्यसको बार लगाएर आवतजाव अवरुद्घ पारिएको स्थानीय लाल बहादुर चँदाराले बताउनुभयो ।
अहिले छिमेकी देश भारतबाट यस क्षेत्रमा स्थानीय आएको र उनीहरुको आवतजावत समेत भइरहेकाले गाउँपालिकाले कडा निर्देशन दिइ लकडाउनको पूर्ण पालना गर्न सूचित गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिनुभयो ।
हालै कैलाली र कञ्चनपुरमा नयाँ कोरोनाका संक्रमित भेटिएकाले प्रदेश सरकारले पनि कडाइ गरेको छ भने पहाडी जिल्लामा त्रास बढेको छ ।
स्थानीयलाई लकडाउनको पालना गर्न वडा कार्यालयले बारम्बार अनुरोध गरेको, तर कसैले नमाने पनि पुलमा रहेका केही स्टील प्लेट (फाल्यक)लाई पछि लगाउने गरि निकालिएको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीले जनाएको छ ।
यसैगरि जिल्लाको तुर्माखाँद गाउँपालिका र सुर्खेत जिल्ला जोड्ने कर्णाली कोलिमोरा झुलुंगे पुल, दैलेख ढुंगेश्वर र रहफ जोड्ने पुल, टुनीबगर( रानीबन पुल, दैलेख भेलतडी) र अछाम बारला जोड्ने पुलमा समेत आवागमन बन्द गरिएका छन् ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आजदेखि ¥यापिड टेष्ट शुरु गर्ने तयारी
प्रतिक्रिया राख्नुहोस्