तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमन्त्रीद्वारा लकडाउनको उल्लंघन

मेलम्ची । देश लकडाउनका कारण ठप्प छ । कोरोना भाइरसको महामारीबाट जनतालाई सुरक्षित राख्न सरकारले लकडाउनलाई जारी राखेको छ ।

तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेत सुरक्षाकर्मीले रोक्दारोक्दै पनि राहत सामग्री बाँड्ने भन्दै गाउँगाउँ डुलिरहनुभएको छ । गाउँगाउँ गएका बस्नेतसँग २५ जनाभन्दा बढी कांग्रेसका कार्यकर्ता अघिपछि हिडिँरहेका छन् ।

प्रहरी र स्थानीयले राहत बाँडन गाउँ पुगेको बस्नेतसहितको टोलीलाई रोक्न खोज्दा पनि उहाँहरुले जबर्जस्ती गरेको गुनासो स्थानीयले गरेका छन् ।

सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरा तोडेर बिकट तथा दुर्गम गाउँ त्रिपुरासुन्दरी गाउँपालिका २ चोकटीमा सामग्री वितरण गर्नुभएको थियो ।

केही दिनअघि बाह्रबिसेमा ५० जनाभन्दा बढीलाई जम्मा पारेर उहाँले खाद्यान्न वितरण गर्नुभएको थियो । लकडाउनको पूर्ण पालन गर्न सर्वसाधारणलाई आह्वान गर्नुपर्नेमा बस्नेत आफै त्यसको उल्लंघन गर्दै गाँउगाँउ डुलिरहनुभएको छ । उहाँको यस्तो कदमले महामारी रोक्नेभन्दा फैलाउने कामलाई प्रश्रय दिएको स्थानीयले बताएका छन् ।

जिल्लाको विपद् व्यवस्थापन र स्थानीय सरकारले सबै राहत र स्वास्थ्य सामग्री एकद्धार प्रणालीमार्फत् वितरण गर्ने निर्णय गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी सुनकोसी गाउँपालिकाका अध्यक्ष प्रेमलाल लामाले बस्नेतको गतिविधि समाजविरोेधी रहेको आरोप लगाउनुभयो । गाउँपालिकाको बजेटले किनेको आइसोलेसन बेड बाँड्दै हिँडेर बस्नेतले राजनीति गर्न खोजेको उहाँको भनाइँ छ ।

बाह्रबिसे नगरका मेयर निमफुञ्जो शेर्पाले प्रेस विज्ञप्ति जारी गरेर बस्नेतको गतिविधिले विभिन्न शंका उत्पन्न गराएको र सरकारले जारी राखेको लकडाउनको गम्भिर उल्लंघन भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button