खरीपाटी क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो
भक्तपुर । खरीपाटी क्वारेन्टाइनमा रहेका ९६ जना मध्ये ७३ जनालाई आज घर पठाइएको छ ।
१४ दिनको क्वारेन्टाइन बसाइपछिको स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको हो । आइतवार उनीहरुको कोरोना नेगेटिभ रिपोर्ट आएको थियो ।
सोमबार ७३ जनालाई सरकारले गाडीको व्यवस्था गरी घर पठाएको हो ।
घर फर्कन पाउँदा उनीहरु जत्ति खुशी थिए, त्यतिनै खुशी कोरोना नभएको पुष्टि भएपछि थपिएको बताएका छन् ।
अब आफूहरु निर्धक्कसँग परिवारमा घुलमिल गर्न सक्ने भन्दै उनीहरुले खुशी व्यक्त गरेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।
क्वारेन्टाइन बसाइ आफ्नै लागि रहेछ भन्ने महसुस गरी उहाँहरु घर जानुभएको छ प्रजिअ पाण्डेले भन्नुभयो । बिदाई कार्यक्रममा क्वारेन्टाइनका स्वास्थ्यकर्मी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
शुरुमा उनीहरु क्वारेन्टाइनमा बस्न तयार थिएनन् । तर पछि यहाँको व्यवस्थापन देखेर खुशी भएका थिए । कोरोना प्रभावित विभिन्न मुलुकबाट दुई हप्ता अघि उनीहरु नेपाल आएका थिए ।
अब खरीपाटी क्वारेन्टाइनमा बाँकी रहेका २३ जनालाई पनि भोली घर पठाइने प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।
खरीपाटीमा शुरुमा ७३ जना थिए, पछि २३ जना थपिएर ९६ जना पुगेका थिए । पछि थपिएका २३ जना मध्ये दुई जनाको रिपोर्ट आउँन बाँकी भएकाले उनीहरु मंगलबार मात्र घर जान पाउने भएका हुन् ।
यसअघि चीनको वुहानबाट उद्धार गरिएका एक् सय ७५ जना विद्यार्थीलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको थियो र पछि रिपार्ट सामान्य आएपछि घर पठाईएको थियो ।
प्रतिक्रिया राख्नुहोस्