तपाईँ सुन्दै हुनुहुन्छः

बेलौरी नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले अतिविपन्न तथा गरीब घरपरिवारलाई राहत वितरणको कार्य शुरु गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण दैनिक ज्याला मजदुरी गर्ने घरपरिवारमा छाक टार्न समस्या भएपछि नगरपालिकाले राहत वितरणको काम शुरु गरेको हो ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीका अनुसार, नगर भित्रका दश वटै वडाहरुमा अतिविपन्न तथा गरीब घरपरिवारका लागि राहत सामग्री पठाइएको छ ।

राहत स्वरुप प्रति घरधुरी ३० किलो चामल, तीन किलो दाल, दुई किलो नुन, तेल र साबुन लगायतका सामग्री वितरण गर्न र परिवारका सदस्यहरुको संख्याका आधारमा थपघट गर्नुपर्ने भए तोकिएको मापदण्ड बमोजिम गर्न वडा समितिहरुलाई निर्देशन गरिएको छ ।

सबै वडामा यसअघि लगत संकलन गरिएको र सोही आधारमा वितरण गर्न सबै वडा समितिलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

यसैबीच, सर्वदलीय, सर्वपक्षीय बैठक बसी राहत वितरणलाई व्यवस्थित बनाउन वडा समितिले स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुसंग समेत समन्वय गर्नुपर्ने निर्णय गरिएको छ ।

सोही बैठकले कुनै पनि संघसंस्था वा व्यक्तिहरुले प्रदान गर्ने राहतलाई नेपाल सरकारले निर्णय गरे बमोजिम स्थानीय तहलाई हस्तान्तरण गरी एकद्वार वितरण प्रणाली अवलम्बन गरी वितरण गर्ने निर्णय गरिएको नगर प्रवक्ता विनोद नेपालीले बताउनु भएको छ ।

त्यस्तै, उक्त बैठकले नगरपालिका क्षेत्र भित्र दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गरिरहेका परिवारलाई राहत वितरण गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन नगर उपप्रमुख चित्र कुमारी चौधरीको संयोजकत्वमा राहत वितरण अनुगमन समिति समेत गठन गरेको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम दत्त भट्टले जानकारी दिनुभएको छ ।

विपद् व्यवस्थापन कोषमा सहयोग राशी जम्मा गर्ने क्रम जारी
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम र न्युनीकरण गर्नका लागि बेलौरी नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग राशी जम्मा गर्ने क्रम जारी रहेको छ ।

यसैबीच, बेलौरी उद्योग वाणिज्य संघका सदस्य एवम् बेलौरीका व्यवसायी डम्मर दत्त भट्टले आफ्नो व्यक्तिगत तर्फबाट बेलौरी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्न रु. १५ हजारको चेक हस्तान्तरण गर्नु भएको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभएको छ ।

त्यस्तै, पञ्चकोशी चन्दननाथ एकता समाज बेलौरीले पनि विपन्न वर्गको सहयोगार्थ बेलौरी नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रू. १५ हजार एक सय सहयोग रकम प्रदान गरेको छ ।

पञ्चकोशी चन्दननाथ एकता समाज बेलौरीका अध्यक्ष टिकाराम जैशीले बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नु भएको नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभएको छ ।

यसैबीच, बेलौरी थारु युवा समुहले पनि विपन्न वर्गको सहयोगार्थ बेलौरी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा रु. चौध हजार एक सय ५५ सहयोग राशी प्रदान गरेको छ ।

रेशम चौधरीले एक् हजार पाँच सय, लेखक राम चौधरीले एक हजार एक सय ५५, विक्रम चौधरी, दिनेश चौधरी, सुरज चौधरी, महेश चौधरी, दिपक चौधरी, लक्ष्मण चौधरी, कुशल चौधरी, खडक चौधरी, सुनिता चौधरी (सानु), माया चौधरी र कृष्ण गम्वाले जनही एक एक हजार र जगदिश चौधरीले पाँच सय गरी जम्मा चौध हजार एक सय ५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

औषधी पसल बाहेक सबै व्यवसाय र सवारीसाधन बन्द
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बेलौरी नगरपालिकाले सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि औषधी पसल बाहेक सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने र सवारी साधन आवागमनमा पुर्ण रुपले रोक लगाउने निर्णय गरेको छ ।

सर्वदलीय, सर्वपक्षीय बैठक बसी आकस्मिक सेवा, अत्यावश्यक अवस्थामा स्थानीय तह तथा सुरक्षा निकायसंग समन्वय गरेर मात्र सवारी साधन प्रयोग गर्न दिइने निर्णय गरेको हो ।

निर्णय विपरित गरेको पाइए कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिइएको छ ।

त्यस्तै, सीमा नाकाबाट सामान भित्रिरहेको जनगुनासो आएपछि सीमा नाकाहरुमा थप कडाइ गर्न सुरक्षा निकायको निगरानी बढाउने र त्यस्ता कार्य गर्ने जोसुकैलाई पनि कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button