तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बु र इन्द्रावतीमा गाउँमै डाक्टरहरुको व्यवस्था

मेलम्ची । हेलम्बु गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि गाउँगाउँमा स्वास्थ्य टोली परिचालन गरेको छ ।

विश्वभरी नै महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को रोकथामको लागि गाउँपालिकाले प्रत्येक टोलमा स्वास्थ्य टोली परिचालन गरेको हो । गाउँपालिकाका ३९ स्थानमा जम्मा ३ सय ५ बेडको क्वारेन्टाइन समेत निर्माण गरिएको छ ।

‘अब काठमाडौँका अस्पतालहरुबाट गाउँपालिका प्रवेश गर्नेलाई समेत क्वारेन्टाइनमा राख्ने गरि व्यवस्था मिलाउदै छौँ,’ गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भन्नुभयोे, ‘अस्पतालबाट फर्केका मानिसहरुमा विभिन्न रोगका संक्रमण हुन्छन्, तिनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्छौ, जसले गर्दा गाउँपालिकामा कोभिड १९ को जोखिम कम हुन्छ’ । यो नीति हेलम्बुले मात्रै हैन सबै स्थानीय तहले अवलम्बन गर्नुपर्छ अध्यक्ष शेर्पाले भन्नुभयो, ‘अस्पतालबाट फर्केका मासिनहरुमा कोरोना भाइरसको संक्रमण पनि हुन सक्छ, त्यसैले अनिवार्य क्वारेन्टाइनमा राख्छौँ ।’

गाउँपालिकामै २ जना डाक्टरहरुलाई नियुक्त गरिएको छ । अब उपचारको लागि काठमाडौ जानुपर्ने बाध्यताको अन्त्य गर्छौ, अध्यक्ष शेर्पाले भन्नुभयो, ‘विरामीहरुले अब उपचारको लागि काठमाडौँ जानु नपर्ने गरि स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छौँ, गाउँपालिकामै २ जना डाक्टरको पनि व्यवस्था गरेका छौँ ।’ नेपाल सरकारले निशुल्क वितरण गर्ने बाहेकका औषधिहरु समेत गाउँपालिकाले निशुल्क वितरण गरिरहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । गाउँपालिका बासीहरुको स्वास्थ्यको लागि सधै प्रतिबद्ध भएर लागिरहेको पनि अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
पूर्वतयारीमा इन्द्रावती

इन्द्रावतीमा संक्रमण फैलन नदिन यसअघि नै कोरोना सचेतनाका लागि हातेपर्चा, विभिन्न सञ्चारमाध्यमबाट पूर्व सावधानीका सन्देश प्रवाह भएका छन् । गाउँपालिका अध्यक्ष आफै विभिन्न टोलमा पुगेर स्थानीयवासीलाई मास्क वितरण गरिएको छ । यो क्रम अझै चलिरहेको छ ।

नेपाल भित्रिएको संक्रमण इन्द्रावती गाउँपालिकामा नफैलियोस् भनेर अहिले इन्द्रावतीमा पीपीइ गाउन लगाएर डाक्टर दिनहुँ बस्ती बस्तीमा जाने गरेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङ बताउँनुहुन्छ । ‘विशेष गरेर विदेशबाट आएकाहरु, बृद्धबृद्धालाई स्वास्थ्य परीक्षण गर्ने गरिएको छ,’ उहाँले भन्नुभयोे, ‘कोरोना संक्रमण फैलन नदिन विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरि उनीहरुलाई निगरानीमा राखिएको छ ।’ विदेशबाट आएकाहरुको दिनहुँ स्वास्थ्य परीक्षणसमेत गर्ने गरिएको छ ।

कोरोना नफैलनका लागि पूर्वतयारीमा इन्द्रावती पूर्ण रुपमा जुटेको छ । विभिन्न स्थानमा साबुन पानीले हात धुने व्यवस्था गरिएको छ । चेतना प्रवाहका लागि माइकिङ भइरहेको छ । अध्यक्ष तामाङले विदेशबाट आएकाहरुलाई परिवार तथा छिमेकीसँग सामाजिक दुरी कायम गर्ने, नियमित साबुन पानी, सेनिटाइजरले हात धुने अनि घरभित्रै रहने सुझाव दिनुभएको छ। वडा समितिले संकलन गरेअनुसार इन्द्रावतीभर २४ जना विदेशबाट नेपाल फिरेकाहरु छन् ।

पूर्व तयारी अन्तर्गते गाउँपालिकामा रहेका स्वास्थ्य चौकी हरुमा आबश्यक उपकरण पठाइसकेको छ । पिपिई, इन्फारेड थर्मा्मिटर, सानिटाइजर, मास्कको ब्यबस्था गरिएको छ । अध्यक्षका अनुसार आवश्यक परे थप स्वास्थ्य सामग्री पठाइनेछ । गाउँपालिकाका सबै स्थानमा साबुन, मास्क वितरण भएको छ ।

थप स्वास्थ्य सामग्री खरिद मात्रै नभई तथा कोरोना संक्रमण फैलन नदिन गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कोष स्थापना गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button