तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं ५ समाचार : भारतीय सीमा नाकामा कडाइ

फाइल तस्बिर

नेपालगञ्ज  । कोराना भाइरसको जोखिम बढेसँगै भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ । बाँकेका साना, ठूला सबै नाकामा सशस्त्र प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको हो ।

भारतको बहराइच र श्रावस्ती जिल्लाबाट लुकीछिपी मानिसको आवागमन भइरहेकाले मुख्य सीमानाकासहित सीमावर्ती क्षेत्रमा थप १२० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक दीपक अधिकारीले बताउनुभयो ।उहाँले लकडाउनलाई पूर्णरुपमा पालनाका लागि अब भारतबाट एक जना पनि छिर्न नदिइने जनाउनुभयो ।

सीमानाकामा निगरानी बढाउन बाँकेका सबै ६ वटै बोर्डर आउट पोष्ट (बिओपी) मा थप प्रहरी पठाइएको छ । जिल्लाको नरैनापुर गाउँपालिका अन्तर्गतका नरैनापुर, गङ्गापुर, कटकुइँया बिओपी, डुडुवा गाउँपालिकाको कालाबञ्जार बिओपी, नेपालगञ्जको जयसपुर बिओपी र जानकी गाउँपालिकाको बढैैैैैया बिओपीसहित खडँैचा र बढैैैैैया बिओपीको पानीट्याङ्कीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार, बिओपीमा सशस्त्र प्रहरीको संख्या धेरै भएपछि अब एक एक किलोमिटरमा प्रहरी बसेर लुकीछिपी आउने मानिसलाई भारतमै फकाइने छ ।

डेरामा बस्ने विद्यार्थी बेखर्ची
लकडाउनका लागि कर्णाली प्रदेशबाट नेपालगञ्जमा प्राविधिक शिक्षा अध्ययनका लागि डेरा बस्दै आएका विद्यार्थी बेखर्ची भएका छन् ।

कर्णाली प्रदेशको मुगु, हुम्ला, कालिकोट, सल्यान, दैलेख लगायत जिल्लाबाट नेपालगञ्जमा अध्ययन गर्न आएका करिव ७० जना विद्यार्थीले नेपालगञ्ज उपमहानगरपालिका पुगेर आफुहरु भोकै बस्ने अवस्था आएको जानकारी गराएका हुन् ।

वडा कार्यालयले विपन्न र मजदुरलाई राहत वितरण गरेपनि आफूहरु बेखर्ची हुनुपरेको उनीहरुको गुनासो छ । हुम्लाका विद्यार्थी चन्द्र बोहराले भन्नुभयो, “भएको चालम दाल सकियो, साथमा रुपैयाँ पनि छैन, लकडाउनले हामीजस्ता विद्यार्थीको बिचल्ली भएको छ । वडा कार्यालयले समस्या नसुनेपछि नगरपालिका गएका हौँ ।”

सत्तारुढ नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य मोहित शाहले नेपालगञ्जका शिक्षण संस्थामा अधिकांश कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरु अध्ययनरत रहेकाले लकडाउन लम्बिदै जाँदा समस्या भएको बताउनुभयो ।
उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले विद्यार्थीलाई सहयोग गर्ने बजेट नभएकाले प्रारम्भिक चरणमा वडा तहबाटै राहत वितरण गर्न शुरु गरिएको स्थितिमा विद्यार्थीको समस्याबारे बोर्ड बैठक गरेर निर्णयमा पुगिने जनाउनुभयो ।

सङ्क्रमितसँगै आउने तीनको पहिचान
कैलालीका कोरोना सङ्क्रमित युवासँगै आएका प्यूठानका तीन युवाको पहिचान भएको छ । सङ्क्रमित युवासँगै भारतबाट आएका यूठानका तीन रहेका छन् । जिल्ला प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले तीमध्ये माण्डवी गाउँपालिकाका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकाका एक÷एक जना रहेको जानकारी दिनुभयो ।

तीनै जनालाई क्वारेनटाइनमा राखी स्वास्थ्य परीक्षण शुरु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो ।

स्वास्थ्य सामग्री अभावमा परीक्षणमा समस्या
रुकुमपूर्वमा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको चेकजाँच गर्ने गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको दुईसाता बित्दासमेत जिल्लामा एउटा पनि थर्मलगण नआएपछि बिरामीको चेकजाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

हाल जिल्लामा भारतबाट भित्रिनेको सङ्ख्या धेरै भएकाले कोरोनाको जोखिम उच्च रहेको भन्दै स्वास्थ्यकर्मीहरु पनि त्रसित छन् । यस्तो अवस्थामा ज्वरो नाप्ने थर्मलगन समेत नभएपछि लक्षणको आधारमा बिरामीको उपचार गर्ने गरिएको जिल्ला अस्पतालका चिकित्सक डा पूर्णबहादुर पुनले बताउनुभयो ।

सरकारले लकडाउन घोषणा गरेको पहिलो साता प्रदेश सरकारले जिल्लामा एउटा थर्मलगन पठाए पनि ती काम नलाग्ने भएको जनाइएको छ ।

मास्क, सेनिटाइजर जस्ता सामाग्री अभावका कारण जोखिम मोलेर बिरामी चेकजाँच गर्नुपरेको पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरिले बताउनुभयो ।

सांसद् केसीद्वारा पिपिई प्रदान
दाङ क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले आफ्नो निर्वाचन क्षेत्रका ११ वटा स्वास्थ्य चौकीमा पिपिई प्रदान गर्नुभएको छ । उहाँले स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोभिड–१९ को संक्रमण फैलिन नदिन तथा रोकथामका लागि निजी लगानीमा सो सहयोग गर्नुभएको हो

उहाँले तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबइ गाउँपालिकाका ११ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि पिपिई, स्यानेटाइजर, ग्लोब्स, मास्क, थर्मोमिटर उपलब्ध गराउनुभएको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button