तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल उद्योग बाणिज्य महासंघद्वारा राहत सामग्री वितरण

काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघले कोरोना भाइरस संक्रमण रोकथामका लागि मुलुकभित्र जारी लकडाउनका समयमा बिहान बेलुका हातमुख जोर्न समस्या भएका श्रमिक÷कामदारहरूको सहयोगार्थ चार हजार प्याकेट राहत सामग्री वितरण गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र महासंघका अध्यक्ष भवानी राणाले आज काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त रूपमा राहत सामग्री हस्तान्तरण गर्नुभयो । राहत सामग्रीमा प्रतिप्याकेट १० केजी चामल, १ केजी दाल रहेको छ ।

राहत सामग्री उद्योग वाणिज्य संघ काभ्रे, काठमाडौं महानगरपालिका वडा नम्वर ३१, मध्यपुर थिमि वडा नम्वर ३ र ६, काठमाडौं महानगरपालिका वडा नम्वर १६, उत्पिडित सुकुम्वासी वस्ती, वडा नम्वर ११ थापाथली, अन्तराष्ट्रिय आप्रवासी समुदाय, डोलेश्वर महादेव समिति, कामनपा वार्ड नम्वर १ र २०, नेपाल चलचित्र प्राविधिक संघ, गणेश केसी समेतको टोल, सुन्दरीजल चाइना गेट, पशुपति क्षेत्र आश्रम सवै, नवजिवन चिल्ड्रेन होम हात्तिवन ललितपुर लगायतका संघ संस्था मार्फत वितरण गर्ने गरी राहत सामाग्री हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।

महासंघले यस अघि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा ५० लाख नगद सहयोग गर्नुका साथै बाँकी एक करोड बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू सहित जम्मा एक करोड ५० लाख बराबरको सहयोग गर्ने घोषणा गरेको थियो ।

सोही सहयोग अन्तरर्गत नै महासंघले केही समय अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेको थियो ।

महासंघले सबै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा विक्रि वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह समेत गरेको छ ।

त्यसै गरी महासंघले लकडाउनको समयमा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरू सुरक्षाका उपायहरू अवलम्वन गर्दै संचालन गर्न पनि आग्रह गरेको छ ।

महासंघले आज एक विज्ञप्ती कोरोना रोगको प्रकोप बढेको यस कठिन अवस्थामा मानव स्वास्थ्यको संवेदनशीलता समेतलाई ख्याल गरी व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउदै सुरक्षित रहन सबै उद्योगी व्यवसायी, कामदार कर्मचारीहरुलाई अपिल गरेको छ ।

महासंघले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकारले जारी गरेका सवै नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयहरूमा आफ्नो ऐक्यवद्धता प्रकट गर्दै आ–आफ्ना स्थानंबाट सहयोग गरी सफल पार्न महासंघले आफ्ना सबै सदस्य संघ÷संस्था÷उद्योग प्रतिष्ठानहरू सहित सबैमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button