हावाहुरीका कारण एकै दिन सप्तरीको आठ स्थानमा आगलागी

सप्तरी । सप्तरीमा शनिबार एकैदिन आठस्थानमा आगलागी भएको छ । आगलागीबाट करिब आठ लाख मूल्य बराबरको क्षति भएको छ ।
कञ्चनरुप नगरपालिका–१ मलकोरका ५२ बर्षीय अनवरुल शेखले लामखुट्टे धपाउन बालेको घुरबाट सल्केको आगोले ११ वटा पशुपन्छीसहित करिब साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार राति करिब साढे ९ बजे सुरु भएको आगलागीमा परी अनवरुलको एकतले गोठ र गोठमा रहेका तीन वटा गाई जलेर मरेका छन् ।
यसैगरी, छिमेकी अगनु शेखको तीन् वटा खसी र पाँच वटा कुखुरा जलेर मरेको स्थानीयले जानकारी दिएका छन् ।
कञ्चनरुप नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय कञ्चनपुर र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
यसैगरी, डाकनेश्वरी नगरपालिकामा दुई ठाउँमा पनि आगलागी भएको छ । डाक्नेश्वरी नगरपालिका ९ बस्ने राजलाल मेहताको गोठमा विद्युत् सर्ट भएर आगलागी हुँदा गोठ र गोठभित्र रहेका खाट, पंखा, पानी तान्ने मोटर, ५० मन धान, ३० मन गहुँ गरी करिब दुई लाख मूल्य बराबरको क्षति भएको छ ।
त्यस्तै डाक्नेश्वरी नगरपालिका ३ का मो.जिवरी, मो. अजिज र मो.सुदिनको खेतमा राखेको १/१ वटा परालको टाल जलेको छ । करिब ५० हजार बराबरकोे क्षति भएको स्थानीयले बताएका छन् ।
उता खड्क नगरपालिका– ५ खोजपुरका लक्ष्मीनारायण साहको १० कठ्ठा खेतको गँहु जल्दा २५ हजार रुपैयाँ बराबरको र सुरुङगा नगरपालिका– ३ दौलतपुरका सत्यनारायण चौधरीको तीन वटा परालको टाल जल्ला ३० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै बोदेबर्साईन नगरपालिका– ६ फूलकाहीका रामसेवक ठाकुर, सिया ठाकुर, ब्रम्हदेव ठाकुर, धर्मदेव ठाकुर र ईन्द्र ठाकुरको १/१ वटा परालको टालमा आगलागी हुँदा करिब ५० हजार मूल्य बराबरको क्षति भएको छ । वडा नं. ९ सिमराहा टोलका बेचन मण्डलको गोठमा आगलागी हुँदा घरको आधा भाग जलेर करिब ५० हजार मूल्य बराबरको क्षति भएको छ ।
रुपनी गाउँपालिका– ४ छपकी भथौलका महेन्द्र मलाहको फुसको गोठमा आगलागी हुँदा परालको टालसमेत गरी ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्