‘कोरोना संक्रमणको रोकथाम सबैको साझा दायित्व’
अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको संक्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले चालेका कदम, अर्थतन्त्रमा पारेको प्रभाव तथा आगामी दिनमा चाल्नुपर्ने कदमका सम्बन्धमा आज अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु तथा स्वास्थ्य विज्ञसँग भएको छलफलमा अर्थमन्त्री डा. खतिवडाले साझा समस्यालाई साझा रुपमै समाधान गर्नुपर्ने समय आएकाले सबै जना आ–आफ्नो क्षेत्रमा जिम्मेवार हुनुपर्ने वताउनुभयो ।
मन्त्री डा. खतिवडाले सबै तहका सरकार र निजी क्षेत्रसँग छलफल र समन्वय गरी कोरोनाको सक्रमण रोकथाम तथा नियन्त्रणका लागि लक्षित वर्गसम्म राहत पुर्याउने कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
सरकारले समयमा नै चालेको कदमहरुबाट हालसम्म संक्रमित व्यक्तिको संख्या न्युन रहेको मन्त्री खतिवडाले बताउनुभयो । जनप्रतिनिधिहरुको उपस्थितिले अहिले कोरोना जोखिम न्यूनीकरण गर्ने कार्य सहज भएको उल्लेख गर्नुहुदै उहाँले स्थानीय तहलाई संक्रमण रोकथाम र राहत वितरणमा जिम्मेवार र सक्रिय रुपमा परिचालित गर्न पाइएको बताउनुभयो ।
छलफलमा सहभागीहरुले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि थालेका प्रयास र उचित निर्णयहरुले मुलुकलाई थप जोखिमबाट बचाउन सहज बनेको धारणा राख्नुभएको राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठले बताउनुभयो ।
छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा, डा. स्वर्णीम वाग्ले र डा. मीन बहादुर श्रेष्ठ, स्वास्थ्य विज्ञ डा. अर्जुन कार्कीले आफ्ना धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्