सबै किसिमका बिरामीको उपचारमा कुनै कमी हुन नदिन मन्त्री ढकालको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारमा कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
आज न्याम्सका पदाधिकारीलाइ मन्त्रालयमा बोलाएर मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिनुभएको हो ।
मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका निम्ति सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै मन्त्री ढकाललले प्रोत्साहन भत्ता र बीमाको व्यवस्था समेत भइसकेको बताउनुभयो ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ढकाले अहिले नेपालमा कोरोना समुदायमा नफैलिएको हुँदा अन्य रोगका बिरामीले दुःख नपाउन् भन्ने कुरामा राज्य संवेदनशिल रहेको पनि बताउनुभयो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाइ कुनै पनि किसिमको असुबिधा हुन नदिने बताएका थिए ।
न्याम्सका उपकुलपति डा देवनारायण शाहले मन्त्रालयको निर्देशनअनुसार कोरोनासहितका बिरामीको उपचारका लागि पूर्ण रूपमा तयार रहेको बताउनुभयो ।
वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारेमा जानकारी दिदै आगामी सोमबारबाट कोरोनाको नुमना परीक्षण समेत हुने जानकारी दिनुभयो ।
यस्तै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पौडेलले कोरोना उपचारमा बिशेष सजकता अपनाउनु पर्ने भन्दै ट्रमा सेन्टरले अहिले पनि घाउचोटका बिरामीको उपचार गरिरहेको जानकारी गराउनुभयो ।
उहाँले कोरोनाका बिरामीको उपचारमा विशेष सजकता अपनाउनुपर्ने भन्दै कोरोनाको नाममा अन्य बिरामीको उपचार नपाइ ज्यान जाने अवस्था आउन दिन नहुनेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्