तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रभाव : पर्वतमा विकास आयोजनाको काम ठप्प

पर्वत । पर्वतमा दर्जनौँ सडक, विद्युत आयोजना, विद्युत प्रसारण लाइनको काम ठप्प छ । जिल्लामा राष्ट्रिय गौरवका ठूला आयोजनादेखि नीजि क्षेत्रमार्फत निर्माणाधिन सबै आयोजनाको काम रोकिएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।

जिल्लामा मध्यपहाडी लोकमार्ग, कालीगण्डकी लोकमार्ग, नयाँ मोदी– लेखनाथ विद्युत प्रसारण लाईन, कालीगण्डकी करिडोर प्रसारण लाइनलगायतका राष्ट्रिय गौरवका आयोजनासहित तल्लोमोदी जलविद्युत आयोजना २० मेगावट , मध्यमोदी जलविद्युत आयोजना १५ मेगावट लगायतका ठूला आयोजनाको काम बीचमै रोकिएको छ ।

दर्जनबढि ग्रामीण सडकको कालोपत्रको काम पनि अधुरै भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले जानकारी दिनुभयो ।

कोरोना त्रास र लकडाउनका कारण आयोजनामा काम गर्ने अधिकांस मजदूरहरु घर फर्किएका छन् । पछिल्लो समय जिल्लामा सञ्चालित ठूला आयोजनाको काम धमाधम अगाडी बढेको थियो भने साना आयोजनाको काम अन्तिम चरणमा थियो ।

चालु आवमा सकिने तय गरिएका आयोजनाको काम बीचमै रोकिएको छ भने लागत पनि बढ्ने भएको छ ।

पर्वत जिल्लामा झण्डै १७ वटा ग्रामीण सडकहरुमा कालोपत्रे र स्तरोउन्नतीको काम भइरहेको छ । जिल्ला भित्रै झण्डै आधा दर्जन खोलाहरुमा मोटरेवल पुलको निर्माण कार्य पनि र्भरहेको छ ।

यसैगरी स्थानीय तहमार्फत पनि सयौ आयोजनाहरु सञ्चालनमा रहेका छन । लकडाउनका कारण पर्वत जिल्लाका सात स्थानीय तहका सबै आयोजनाहरुको निर्माण कार्य पनि बन्द भएका छन ।

यो अवधिमा बोलपत्र खोल्ने र निर्माण व्यवसायीसँग सम्झौता गर्नुपर्ने भएपनि लकडाउनका कारण सबै आयोजनाको टेण्डर समेत हुन सकेको छैन ।

दुई वटा राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी लोकमार्ग र मध्यपहाडी लोकमार्गले गति लिइहरको अवस्थामा कोरोनाको प्रकोप देखिएकाले आयोजनाको काम तोकिएको समयमा सकिने सम्भावना कम रहेको जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले बताउनुभयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका अनुसार पर्वत जिल्लामा सञ्चालित खानेपानी आयोजनाका सवै काम बन्द छन ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालका अनुसार पछिल्लो पल्ट टेण्डर आव्हान भएर काम शुरु हुने भनिएका थप बजेटका कार्यक्रम पनि अन्यौलमा छन ।

लकडाउन कायमै गरे यो बर्षको पुँजीगत निकै कम हुने देखिन्छ । चालु आवमा समग्र जिल्लाको खर्च बढिमा ४० प्रतिशत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button