उद्योग परिसंघद्वारा मुख्यमन्त्रीहरुलाई राहत सामाग्री हस्तान्तरण
नेपाल उद्योग परिसंघले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुलाई आज राहत सामाग्री हस्तान्तरण गरेको छ ।
परिसंघको तर्फबाट सुदूरपश्चिम उद्योग परिसंघका संयोजक हेमविक्रम थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको छ भने परिसंघका प्रदीप शारदाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री सहितका एक एक हजार प्याकेटहरु हस्तान्तरण गरिएको नेपाल उद्योग परिसंघले जनाएको छ ।
परिसंघले प्रदेश नं २ तथा काठमाण्डौ र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाहरुलाई समेत राहत सामाग्री हस्तान्तरण गरेको परिसंघले जनाएको छ । परिसंघले नेपालका सवै प्रदेशहरुमा यस्ता राहत सामाग्रीहरु क्रमिक रुपमा उपलब्ध गराउने कार्यक्रम रहेको पनि जनाएको छ ।
हाल कोरोना रोगसंग जुध्न अग्रपंतिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य कर्मीहरु, आपतकालीन व्यवस्थामा खटिरहेका व्यक्ति तथा संस्थाहरुको हौसला बढाई राख्न र संकट नटरेसम्म संयमित भई बस्न पनि नेपाल उद्योग परिसंघले विज्ञप्ती मार्फत सबैलाई आग्रह गरेको छ ।
परिसंघले यस्तो विषम परिस्थितिमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत परिसंघले आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्