तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको महाशिला गाउँपालिकाद्धारा राहातको घोषणा

पर्वत-पर्वतको महाशिला गाउँपालिकाले विपन्न, गरिब तथा मजदुरहरुका लागि राहत घोषणा गरेको छ । मंगलवार सम्पन्न गाउँ कार्यपालिकाको वैठकले महाशिलाका ६ वटै वडामा रहेका १ सय ५६ जना परिवारलाई दुई÷दुई हजार रुपैया बराबरको राहत उपलव्ध गराउने निर्णय गरेको हो ।

बुधवार देखिनै सवै विपन्न परिवारहरुलाई वडा कार्यालयले उनिहरुको घर घरमै लगेर दुई हजार रुपैया बराबरको खाद्यान्न सामाग्री वितरण गर्ने भएको छ । दाल, चामल, तेल लगायतका आवश्यक खाद्यान्न वितरण गरिने महाशीला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

महाशिलामा अन्यत्रवाट आएर विभिन्न विकास निर्माणमा कार्यरत मजदुर भएमा पनि दुई हजार बराबरको राहत सामाग्री दिने गाउँ कार्यपालिकाले निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । ६ वटा वडा रहेको महाशीलामा १ सय ५६ जना गरिब तथा विपन्नको सूचिमा समावेश रहेका छन् ।

त्यसैगरी वैठकले लुंखुदेउरालीमा रहेको धुँवाकोट महाशिला क्याम्पसमा संचालन गरिएको १५ शैयाको क्वारेन्टाईनलाईनै सिंगो गाउँपालिकाको साँझा क्वारेन्टाईनको रुपमा विकास गर्ने निर्णय गरेको छ । यसलाई आवश्यकता अनुसार क्षमता बृद्धि गर्ने र ६ वटै वडाबाट क्वारेन्टाईनमा राख्नुपर्ने सम्भावित जोखिमका व्यक्तिहरुलाई सोहि क्वारेन्टाईनमा राखिने समेत निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिका भित्र रहेका सवै खाद्यान्न पसलहरुको अनुगमन गरी आपुर्तिका लागि सहजीकरण गर्ने निर्णय समेत वैठकले गरेको छ । अत्यावश्यक वस्तु आपुर्तिका लागि वडा कार्यालयवाट समेत सवारी पास लिन सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी बृद्ध बृद्धा र दिर्घरोगीहरुलाई नियमीत सेवन गर्ने औषधीको अभाव भएमा पालिकाले औषधि किनेर आपुर्ति समेत गरिदिने भएको छ ।
गाउँपालिकामा वितरण गर्नुपर्ने राहत र सहयोग एकद्धार प्रणालीवाट वितरण गरिने भएको छ ।

वडा स्तरवाट समेत आपतकालीन राहत कोष संचालनमा आएपनि संकलित रकमलाई एकत्रित गरि एकद्धार प्रणालीवाट वितरण गर्ने निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी गाउँपालिका भित्रको आवतजावतलाई कडाई गरिने भएको छ । लक डाउनको अवधिभर पालिकाभित्र भित्रिने र वाहिरीनेहरुको पहिचान गर्नका लागि महाशीला स्वयंसेवकहरुलाई खटाईने भएको छ । पालिकाका सवै नाकाहरुमा स्वयंसेवकलाई खटाएर आवतजावतमा समेत कडाई गरिने समेत वैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button