तपाईँ सुन्दै हुनुहुन्छः

उपचार नगर्नेको लाईसेन्स खारेजको सिफारिश गर्न मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणको लागि जस्तो सुकै कदम चाल्न परेपनि पछि नपर्नका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका काम बारे जानकारी लिन तथा आवश्यक निर्देशन दिनका लागि आज बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै बहानामा नलागि जनताको जीऊ धनको सुरक्षामा सम्पूर्ण शक्तिका साथ लगाउन निर्देशन पनि दिनुभयो ।

कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको बेलामा सामान्य रुघा खोकीकोे उपचारमा चिकित्सक तथा अस्पतालहरुले हेलचक्र्याई गरी रहेको जनगुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकहरुको सूची तयार गरी प्रदेश सरकारमा पठाउन आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन पनि दिनुभयो ।

उहाँले राज्यको सुविधा प्रयोग गरे पनि राज्यमा संकट आएको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारवाही गर्न प्रदेश सरकार दृढ भएको बताउदै लाइन्सेन्सको खारेजीसम्मको कारवाहीका लागि सिफारिश गर्नका आग्रह गर्नुभयो ।

महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझव दिनुहुँदै मुख्यमन्त्री राउतले रकमको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राख्नु भएको जिज्ञासामा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायले सम्बन्धित विषयहरुमा आ–आफनो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले अहिले विषेश परिस्थितमा गर्नुपर्ने काम र कानूनी अवस्थावारे आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकमा चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिय अनुसन्धान विवभाग अनुसन्धान प्रमुखहरु उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारीहरुले महामारी नियन्त्रणको लागी जिल्लामा गरेका प्रयासहरु, र अगामी दिनमा गर्नुपर्ने योजनाहरुका बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button