तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले कृषिजन्य सामग्री ढुवानीमा २५ प्रतिशत छुट दिने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारीको रोकथामका क्रममा जारी गरिएको लकडाउनको अवधिमा सरकारले कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ ।

दुध, तरकारी, फलफूल, माछा, अन्डा, मासु तथा खाद्यन्न लगायत सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान स्थानीय तहमार्फत् उपलब्ध गराउने भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, नजिकको बजार केन्द्र वा राजधानी उपत्यकामा ढुवानी गर्दा २५ प्रतिशत अनुदान दिइनेछ ।

मन्त्रालयले किसान तथा उत्पादकलाई बजार केन्द्रसम्म आफ्ना उत्पादन बिक्री गर्न सवारी साधनको पासको व्यवस्था समेत गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले महामारीको कठिन परिस्थितिमा अत्यावश्यक खाद्य सामग्रीको सहज आपूर्तिका लागि ढुवानीमा अनुदानको व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री भूसालले महामारीबाट बच्न र दैनिकी समेत अवरुद्ध हुन नदिन सावधानीपूर्ण ढंगले सहज आपूर्तिको व्यवस्था गरिएको जाकारी दिनुभयो ।

मन्त्रालयले लकडाउनको अवधिमा क्षति बेहोर्नु परेका किसानहरुका लागि उचित कार्यक्रम ल्याउन गृहकार्य शुरु गरेको जनाएको छ ।

मन्त्रालयले लकडाउन शुरु हुनासाथ उत्पादकहरुलाई उत्पादन नरोक्न र ढुवानीमा सहज बातावरण बनाइदिन सम्बन्धित प्रशासनसँग आग्रह गरेको थियो ।

आज मन्त्रालयले स्थानीय तहलाई पत्रकाचार गरी लकडाउनको अवधिमा कृषिजन्य वस्तुहरुको उत्पादन र आपूर्तिलाई सहज बनाउन र उत्पादित सामाग्रीको बिक्री वितरण नभएमा स्थानीय स्तरमा नै वैकल्पिक वस्तुहरु उत्पादन वा प्राथमिक स्तरमै प्रशोधन गर्ने कार्यमा सघाउन पनि आग्रह गरेको छ ।

मन्त्रालयले अन्नबाली भित्र्याउने तथा नयाँ बाली लगाउने मौसम भएकाले भौतिक दूरी कायम राख्न आग्रह गरेको छ ।

यस अगाडि अत्यावश्यक खाद्य वस्तुहरुको बिक्रीबितरणमा सहज व्यवस्था अपनाउन प्रशासन र स्थानीय सरकारलाई आग्रह गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button