कोरोना भाइरस (कोभिड-१९)को महामारीले अर्थतन्त्र सुस्त हुने : विश्व बैंक
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को महामारीले एसियाली अर्थतन्त्र निकै सुस्त हुने विश्व बैंकले बताएको छ ।
बिशेषगरी पूर्वी एसिया र प्रशान्त क्षेत्रका मुलुक र चीनको अर्थतन्त्र नराम्ररी प्रभावित बन्ने विश्व बैंकले अनुमान गरेको छ ।
सोमबार विश्व अर्थतन्त्रबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यो अवस्थामा आर्थिक वृद्धिको प्रक्षेपण गर्नु निकै कठिन रहेको उल्लेख गरेको छ ।
उसले सन् २०२० मा समग्र विकासशील मलुकको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । यो दर माइनस शून्य दशमलव पाँच प्रतिशतमा पनि जान सक्ने बताएको छ । जबकी सन् २०१९ मा यो क्षेत्रको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहेको थियो ।
विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा यो भाइरसको प्रभाव सबै मुलुकमा देखिएकोले यस्तो प्रक्षेपण गरिएको उल्लेख छ । विश्वका सबै मुलुकले आर्थिक सुधारको लागि विभिन्न कार्यक्रम अघि सार्नु जरुरी रहेको बैंकले उल्लेख गरेको छ
विश्व बैंक यो महामारीले धेरै मानिसलाई गरिबीको दिशामा धकेल्ने भन्दै चिन्तित छ । यो महामारीको कारण यसवर्ष दुई करोड ४० लाखभन्दा कम मात्र मानिस गरिबीको रेखाबाट बाहिर आउने बैंकले उल्लेख गरेको छ ।
जबकी यस वर्ष तीन करोड ५० लाख मानिस गरिबीको रेखाबाट माथि उठ्नसक्ने अनुमान गरिएको थियो । आर्थिक अवस्था अझै कमजोर बने गरिबी एक करोड १० लाखले बढ्ने विश्व बैंकको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्