तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा लकडाउन उल्लंघन गर्ने ६० जना प्रहरी नियन्त्रणमा

किरण श्रेष्ठ- जिल्ला प्रहरी कार्यालय तनहुँले लकडाउन उल्लंघन गर्नेलाई चौरमा राखेर कोरोनाबारे सचेतना दिन थालेको छ । सोमबारदेखि प्रहरीले बिना अत्यावश्यक काम घर बाहिर निस्कनेहरु लाई नियन्त्रणमा लिएर कोरोनाबारे सचेतना दिन थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताउनुभयो ।

उनीहरुलाई सामाजिक दूरी कायम गरी कोरोना र लकडाउनको बारेमा जानकारी गराइने छ । आदेश उल्लंघन गर्ने्विरुद्ध कारबाहीको नयाँ नियमस्वरुप होल्ड गरेर सचेतना शिक्षा दिन थालिएको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन उल्लंघन गर्नेहरुमाथि प्रहरीले कारबाही तीव्र बनाएको छ । सोमबार प्रहरीले ५६ जना पुरुष र ४ महिला गरी ६० जनालाई चौरमा राखेर कोरोना सम्बन्धि सचेतना दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो । ’आज पहिलो दिन भएर १ घण्टा मात्रै राखेर छोडियो ।’

डीएसपि लामिछाने भन्नुभयो ’भोलिदेखि झनै कडा रुपमा अघि बढ्नेछौ ।’ उहाँले थप्नुभयो ’यो अभियान निरन्तर जारि रहनेछ ।’ सो अवसरमा मास्क नलगाउने सर्वसाधारणलाई मास्क समेत वितरण गरेको प्रहरीले जनाएको छ ।

लकडाउनको आइतबारसम्म जिल्लाका विभिन्न क्षेत्रबाट ४ सय ५२ सवारीलाई नियन्त्रणमा लिइएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी लकडाउन गर्ने निर्णय गरेको थियो । उक्त लकडाउन चैत १८ गते बिहानसम्म लागू हुने थियो । तर आइतबार मन्त्रिपरिषद्को बैठकले चैत २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

अहिलेसम्म नेपालमा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । एक जना निको भएर घर फर्किसकेका छ्न भने ४ जना उपचाररत छन । पाँचै जना विभिन्न मुलुकबाट फर्किएका नेपाली हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button