सञ्चार क्षेत्रका लागि प्याकेज ल्याउन प्रेस युनियनको आग्रह
काठमाडौँ । नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मी समेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ ।
युनियनका अध्यक्ष बद्री सिग्देलले आज एक विज्ञप्तिमार्फत वर्तमान विषम परिस्थितिमा केही समयका लागि बन्द हुन पुगेका सञ्चार माध्यम र त्यसमा कार्यरत सञ्चारकर्मीको अवस्थालाई समेत ध्यानमा राखेर आर्थिक सहुलियतका कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको हो ।
युनियनले राहत प्याकेजमा सञ्चारमाध्यमको नवीकरण शुल्क र करमा छुट लगायत प्रक्रिया पनि समावेश गर्न सरकारलाई सुझाएको छ ।
तत्काल सञ्चार माध्यम र सञ्चारकर्मीका लागि राहत पुर्याउने विशेष प्याकेजको घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिग्देलले दैनिक फिल्ड र कार्यालयमा कार्यरत सञ्चारकर्मीका लागि पनि कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन समेत आग्रह गर्नुभएको छ ।
युनियनले महामारीको विषम परिस्थितिमा सत्यतथ्य र आधिकारिक सूचनामा आधारित समाचार सामग्री मात्र सम्प्रेषण गर्न समेत आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्