रसुवागढी र तातोपानीबाट आयात निर्यात सुचारु गर्ने निर्णय
काठमाडौं । कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको छ ।
बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्राटलय र अर्थ मन्त्रालयले गर्ने निर्णय गरेको हो ।
यसैगरी, बैठकले अति आवश्यक बैंकिङ सेवा, औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने तर यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने निर्णय गरेको छ ।
ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने, अति आवश्यक परी खाद्यान्न ढुवानी गर्नुपरेमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।
इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन दिन विद्युत महसूल र भन्सार महसूल छूट दिने, विदेशी नागरिकहरूलाई आफ्नो देश फर्की जान सहजीकरण गर्ने, स्थानीय तहहरूले आ—आफ्नो क्षेत्रभित्रका वडाहरूमा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्ने लगायतका निर्णग गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्