पर्वत कोरोना अस्पतालमा थप एक महिला भर्ना
पर्वत-पर्वतको कुश्मास्थित कोरोना अस्थायी अस्पतालमा थप एक महिलालाई भर्ना गरिएको छ । पर्वतको बिहादी गाउँपालिकाकी ३० बर्षिया महिलालाई कोरोनाको लक्षण देखिएपछि परिक्षणका लागि अस्पतालको कोरोना अस्पतालमा भर्ना गरिएको हो ।
बिरामी महिलामा केही दिन रुघाखोकी र देखि १ सय २ देखि १ सय ३ डिग्री सम्म ज्वरो आएको र सिटामोल खाँदा समेत ज्वरो घटेको छैन । बिरामीमा कोरोनाको लक्षण संग मिलेका कारण थप परिक्षणका लागि आइसोलेसनमा राखिएको पर्वत कोरोना अस्थायी अस्पतालले जानकारी दिएको छ ।
भर्ना गरिएकी बिरामीका श्रीमान १२ दिन पहिले भारतबाट फर्कनु भएको थियो । श्रीमानमा भने रुघाखोकी, ज्वरो जस्ता सामान्य लक्षण समेत देखिएका छैनन । कहिलेकाही संक्रमित ब्यक्तिमा लक्षण नदेखिएपनि भाइरस अरुमा संक्रमण हुन सक्ने पर्वत अस्पतालका प्रमुख डा. शिशिर देबकोटाले बताउनुभयो । बिरामीको स्वाब शनिबार परिक्षणका लागि पठाउने तयारी भैरहेको छ ।
यसअघि कोरोना संक्रमित युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका युवालाई पनि आइसोलेसनमा राखिएको छ । कुश्माबजारमा आफन्तकोमा बस्दै आएको अबस्थामा आइसोलेसनमा राखिएका युवाको पनि स्वाब शुक्रवार परिक्षणका लागि पठाइसकिएको छ । उनको रिर्पोट आउन भने बाँकी छ ।
प्रतिक्रिया राख्नुहोस्