तपाईँ सुन्दै हुनुहुन्छः

बिजुवारमा ५० श्ययाको क्वारेन्टाइन निर्माण

झिमरुक। कोभिड–१९ रोकथाम तथा लक्षण देखा परेको १४ दिनसम्म छुट्टै राख्नका लागि प्यूठान नगरपालिका—४ गणतान्त्रिक खेल मैदानमा ५० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । गृह मन्त्रालयबाट पठाइएको निर्माण सामग्रीबाट क्वारेन्टाइन निर्माण गरिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । ती निर्माण सामग्रीहरु नेपालगञ्जदेखि प्यूठानसम्म सशस्त्र प्रहरीको सहयोगमा ल्याइएको थियो भने क्वारेन्टाइनका घरहरु इन्द्रध्वज गण खलङ्गामा कार्यरत नेपाली सेनाले निर्माण गरेका थिए ।

क्वारेन्टाइनमा शौचालय, खानेपानी तथा अन्य संरचना र स्वास्थ्यकर्मी, बसाइ व्यवस्थापनलगायतका कार्य प्यूठान नगरपालिका आफैँले गर्नेछ । क्वारेन्टाइनमा आवश्यक ५० वटा श्ययाहरु उद्योग वाणिज्य सङ्घले सहयोग गर्ने भएको कक्षपतिले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नंं ४ मा पर्ने कालिका विकास केन्द्रको हलमा १२ श्ययाको, वडा नं ७ कवर्ड हलमा १० श्यया र वडा १ र २ लाई पायक पर्ने गरी सिद्धार्थ सामुदायिकको हल दाखाक्वाडीमा १५ श्ययाको क्वारेन्टाइन तयार भैसकेको नगरप्रमुख कक्षपतिले बताउनुभयो । आज नगर क्षेत्रका १० वटै वडामा क्वारेन्टाइन निर्माण गरी नगरपालिका क्षेत्रभित्र कम्तीमा १५० श्ययाको क्वारेन्टाइन तयार गरिने नगर प्रमुख कक्षपतिले बताउनुभयो ।

छब्बीस जना क्वारेन्टाइनमा

कोरोना सङ्क्रमण रोक्नका लागि जिल्लामा विभिन्न अभियान सञ्चालन भइरहेका समयमा दुई स्थानीय तहले भारतबाट घर फर्किएकालाई क्वारेन्टाइनमा राखेका छन् । ऐरावती गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाले अन्य मुलुकबाट आएकालाई क्वारेन्टाइनमा राखेका हुन् ।

ऐरावती गाउँपालिका क्षेत्रका १५ जनालाई मोति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा १४ दिनका लागि राखिएको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार भारतबाट आएका व्यक्तिहरुमा कुनै लक्षण पाइएको छैन । उनीहरुलाई गत चैत १० गतेदेखि कपिलवस्तु जिल्ला प्रशासनको समन्वयमा क्वारेन्टाइनमा राखिएको थियो । बिहीबार प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थको समन्वयमा आफ्नै पालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा राखेर निगरानी गरेको उपाध्यक्ष बस्नेतले बताउनुभयो ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकाले पनि अन्य मुलुकबाट आएका १३ जनालाई क्वारेन्टाइनमा राखेको नगर प्रमुखका स्वकीय सचिव रमेश पोख्रेलले बताउनुभयो । उहाँका अनुसार वडा नं ६ मा ११ जना र वडा नं २ मा दुई गरी १३ जनालाई क्वारेन्टाइनमा राखिएको हो । नगरपालिकाले अन्य मुलुकबाट आएकालाई तथ्याङ्क सङ्कलन गरी होम—क्वारेन्टाइनमा बस्नका लागि आग्रह गरेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button