तपाईँ सुन्दै हुनुहुन्छः

जिपि उपचार केन्द्रको चरम लापरवाही : फेरि विरामीको मृत्यु

तनहुँ । गत असार महिनामा शुक्लागण्डकी नगरपालिका ७ का बलबहादुर विक सवारी दुर्घटनामा परेपछि तत्काल उद्धार गरेर तनहुँको बेलचौतारामा स्थित जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचारका लागि लगिएपनि उपचार नपाएर उनले ज्यान गुमाउन बाध्य हुनुभयो ।

सामान्य सफाई नभएको र टिकट काट्ने समेत पैसा नभएको भन्दै अस्पतालले उपचार गर्न नमानेपछि उहाँले ज्यान गुमाउन बाध्य हुनुभएको थियो । स्वास्थ्य समस्या सहित दिर्घजीवन जिउने आशा सहित आउने विरामीहरु यस अस्पतालबाट उचित सेवा पाउन नसक्दा मृत्युशैयामा पुग्न बाध्य छन् ।

यस्तै यो अस्पतालमा भिमाद नगरपालिका ९ की थमनमाया आले पनि उचित स्वास्थ्य सेवा लिन नपाएर मृत्युवरण गर्ने पछिल्लो पात्र बन्नुभएको छ । विहिबार पेट दुखेको भन्दै जिपिमा पुगेकी आलेलाई सामान्य ग्याष्टीकको सुई लगाएर फर्काइएको थियो । तीन महिनाको गर्भवती समेत रहनुभएकी आले घर फर्के लगत्तै पुनः स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजादै गर्दा बाटोमा नै उनको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँका आफन्तले उपचारमा चरम लापरवाही भएका कारण आलेको ज्यान गएको आरोप लगाएका छन् ।

अस्पतालमा यस्ता घटनाहरु बारम्वार दोहोरिदाँ समेत अस्पताल संबेदनशिल बन्न सकेको छैन । ठिक एक महिना अघि निर्माणाधिन दुईतल्ला घरको छतबाट काम गर्ने क्रममा खस्नुभएका भिमाद नगरपालिका ८ का पूर्णचन्द्र कुँवरले पनि अस्पतालले उपचारमा चरम लापरवाही गरेको गुनासो गर्नुभयो । एक दिन अस्पतालमा नै रहेर उपचार गराउनुभएका उहाँ मासु थिलिएको तर अन्य जटिल समस्या नभएको चिकित्सकको सुझाव पछि घर फर्किनुभएको थियो ।

असह्य दुखाई भएपछि पोखरा स्थित एक अस्पतालमा उपचारका लागि पुगेका थापाले करङका तीन हड्डी भाँचिएका रिपोर्ट पाएपछि जिपिमा लापरवाही गरिएको थाहा पाउनुभएको थियो । “उनीहरुको विश्वास गरेर बसेको भए के हुन्थ्यो थाहा छैन, धन्य बाँचे ।” उहाँले भन्नुभयो ।

यता जिपि उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले विरामीलाई औषधी चलाएको स्वीकार गरेता पनि आफुकै कारण विरामीको मृत्यु भएको स्वीकार गर्न तयार नभएको बताउनुहुन्छ । उहाँले कहिले काँही यस्तो घटना घट्ने फितलो जवाफ दिदै यस्ता घटनाहरुबाट पाठ सिक्नुपर्ने बताउनुभयो । डा.श्रेष्ठले आफुहरुले विरामीको जाँचमा वास्तविक समस्या पहिचान गर्न नसकेको हुन सक्ने सम्भावनालाई स्वीकार गर्दै आफुहरु सिमित स्रोत र साधनको उपलब्धतामा काम गर्न बाध्य रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button