तपाईँ सुन्दै हुनुहुन्छः

विदेशबाट घर फर्किएका तीन जना क्वारेन्टाइनमा

खोटाङ । खोटाङमा विदेशबाट फर्किएका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बुधबार २० शैयाको क्वारेन्टाइन स्थापना गरे लगत्तै उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । गत चैत ८ गते भारतको मेघालयबाट फर्किएका ४७ वर्षका एक पुरुष, भारतकै वेस्टबंगालबाट चैत ८ गतेकै दिन घर फर्किएका २२ वर्षीय युवा, र साउदीअरवबाट गत चैत ३ गते घर आईपुगेको ३० वर्षीय युवालाई क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा रहेको तीनै जनालाई खानपानको सुविधा गाँउपालिकाले नै बन्दोबस्त मिलाएको पालिका प्रमुख भुपेन्द्र राईले बताए । महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको रोकथामका लागि गाउँपालिकाले याम्खा स्वास्थ्यचौकीमा ४० शैया र गाउँपालिका–५ सछितापोखरीमा ६ बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

गाँउपालिकाले अहिले विदेशबाट फर्किएहरुको खोजी गरेर क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेको पालिका प्रमुख राईको भनाई छ ।

यसैबीच कोरोना संक्रमित युवतीसँगै कतारबाट नेपाल फर्किएका खोटाङका दुई जनाको पनि पहिचान भएको छ । फ्रान्सबाट कतार हुँदै काठ्माण्डौं आएकी युवतीसँगै यात्रा गरेका केपीलासगढी गाउँपालिका घर भएका राई थरका युवा धरानमा क्वारेन्टाइनमा बसिसकेको छन् भने खोटाङकै जन्तेढुंगा गाउँपालिका–३ काहुलेका राई थरकै अर्का युवालाई भने सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

जन्तेढुंगा गाउँपालिका–३ काहुलेका युवालाई जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंकर राई, मेडिकल अधिकृत सरोजकुमार शाह लगायतको टोलीले बुधबार साँझ उनकै घरैमा पुगेर सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको पालिका अध्यक्ष राईले बताए । सेल्फ क्वारेन्टाइनमा रहेको व्यक्ति र उनका परिवारलाई दुई हप्तासम्म छरछिमेकी, आफन्त कोहीसँग सम्पर्क तथा भेटघाट नगर्नेगरी स्वास्थ्यकर्मीको निगरानी रहने गरि होम क्वारेन्टाइनमा राखिएको छ । उत्त अवधिभर वरपरका छरछिमेकी तथा साथीभाई कसैलाई पनि उनको सम्पर्कमा नजान भनिएको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।

यस अवधिमा उनलाई प्रहरीले समेत निगरानी गर्ने पोखरेलले बताए । गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत नेपाल फर्किएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो । कोरोना संक्रमण भएको पुष्टी भएका युवतीसँगै नेपाल आउनेमध्येमा दुई जना खोटाङका दुई युवा रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button