तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट आएका २१ जना क्वारेन्टाईनमा राखियो

उदयपुर-कटारी नगरपालिकाले नगर क्षेत्र भित्रको नाकामा कडाई गरेसँगै छिमेकी मुलुक भारतबाट घरतर्फ आउँदै गरेका २१ जनालाई उदयपुरको वेलसोतम स्थित क्वारेन्टाईनमा राखेको छ ।

भारतको सिलिगुडीबाट काँकडभिट्टा हुँदै उदयपुरको ताप्लि गाउँपालिका हिंडेका २१ जनालाई कटारी नगरपालिका १ बेलसोत स्थित नेपाली सेनाको १८ नम्बर वाहिनी मातहतको रणशार्दुल गणको सुरक्षा वेस क्याम्पको क्वारेन्टाईनमा राखिएको हो ।

कटारी बजार प्रवेश गरेका उनीहरुलाई कटारी अस्पताल परिषरमा कटारी नगरपालिकाले स्थापना गरेको हेल्थडेक्समा स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य जाँचका क्रममा एक जनालाई ज्वरो देखापरेपछि सबैलाई क्वारेन्टाईनमा राखिएको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । मेयर श्रेष्ठले भारतको सिलिगुडीबाट १५ जना र अन्य विहार, दिल्लीबाट आएकाहरु गरी २१ जनाको चेकजाँच गरिएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘एक जनामा ज्वरो देखा पर्यो त्यसैले हामीलाई शंका लागेकाले विरामीलाई आईसोलेसन र अन्यलाई क्वारेन्टाइनमा राखेका हौ । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेम सागर केसीका अनुसार बाटोमा आउनेक्रममा सोधीखोजी गर्दा भारतको विभिन्न ठाउँबाट आएको जनाएपछि स्वास्थ्य परिक्षण गराईएको हो ।

यसैविच भारतबाट नेपालको काकरभिट्टा हुँदै अन्य ६ जना बुधबार साँझ उदयपुर आईपुगेका छन् । उदयपुरको विभिन्न ठाउँ घर बताउने उनीहरुको स्वास्थ्य परीक्षण भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो ।
उनले ६ जना नै संक्रमित देशबाट आएकाले केहि दिनका लागि क्वारेन्टाईनमा राख्ने तयारी भईरहेको बताए । प्रमुख सुवेदीले रोग भित्रिन नदिन र समयमा उपचारको व्यवस्था गर्न विदेशबाट आएका जिल्लाबासीको खोजी कार्य जारी राखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button