कोरोना संक्रमितसँगै जहाजमा यात्रा गरेका व्यक्तिलाई स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वास्थ्य परीक्षण गराउन आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाईरसको संक्रमण पुष्टि भएका व्यक्तिहरूसँग एउटै जहाजमा यात्रा गरेका व्यक्तिहरूलाई अस्पताल तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अपिल गर्नुभएको छ ।
कोरोना प्रकोपको पछिल्लो अवस्थाबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले कोरोना संक्रमण पुष्टी भएका दुबैजनासँग जहाजमासँगै यात्रा गरेका, होटल तथा घरमा सँगै रहेका अथवा अन्य कुनै तरिकाबाट सम्पर्कमा आएका व्यक्तिहरूलाई तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो ।
संक्रमणको जोखिममा रहेका सबै व्यक्तिहरूसँग सम्पर्क गर्न सरकारले प्रयास गरिरहेको मन्त्री ढकालले बताउनुभयो ।मन्त्री ढकालले लकडाउनको सरकारी निर्णयलाई पालना गर्न र अत्यावश्यक अवश्थामा बाहेक घरबाट बाहिर ननिस्कन सबैलाई आग्रह गर्नुभयो ।
उहाँले दैनिक उपभोग्य वस्तुको आपुर्ती सहज बनाउन रातको समयमा सामग्री ढुवानीको व्यवस्था मिलाउने गरी तयारी भैरहेको र केही दिन भित्र नै आपुर्ती सहज हुने समेत जानकारी दिनुभयो ।
मन्त्री ढकालले नेपाल भित्र रहेका सबै नागरिकको स्वास्थ्यको सुरक्षा तथा संक्रमित भएमा उपचारको व्यवस्था नेपाल सरकारले गर्ने र विदेशमा रहेका नेपालीहरूको व्यवस्था सम्वन्धित देशले गर्ने हुँदा जो जहाँ हुनुहुन्छ सुरक्षित र निश्चिन्त रहन समेत आग्रह गर्नुभयो ।
मन्त्री ढकालले कोरोना सम्वन्धी सूचनाको एकद्वार प्रणालीलाई अवलम्बन गर्न र मन्त्रालयको चेन अफ कमाण्डलाई अवलम्बन गर्न समेत मातहतका सबै निकायहरूलाई निर्देशन समेत दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्