तपाईँ सुन्दै हुनुहुन्छः

कन्टेनरमा लुकेर आएका ५२ जनालाई क्वारेन्टाईनमा पठाईयो

बीरगंज  । काठमाडौंबाट सामान बोक्ने कन्टेनरमा लुकेर आएका ५२ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

लकडाउनका कारण अन्य सवारी साधन नपाएपछि कन्टेनरभित्र लुकेर मध्यरातमा वीरगन्ज आइपुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको हो । काठमाडौंबाट भरतपुर, हेटौंडा हुदै कन्टेनरमा बसेर आएका उनीहरुलाई प्रहरीले वीरगन्जको घन्टाघरमा नियन्त्रणमा लिएको थियो ।

काठमाडौंको सतुंगलस्थित इन्जिम हार्डवेयरमा आल्मुनियम अनलोड गरी हिजो वीरगन्ज फर्किने क्रममा ना ५ ख ९५५२ नम्बरको खाली कन्टेनरमा काठमाडौंबाट ५२ जना यात्रु चढेका थिए ।

लकडाउन उल्लंघन गरी मालवाहक कन्टेनरमा यात्रु आइरहेको जानकारी प्रहरीले पाएपछि गए राति घण्टाघरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले बताउनु भयो ।

प्रहरीले नियन्त्रणमा लिएको कन्टेनरमा ३ बालबालिका, एक महिला र चालक गरी ५३ जना रहेको र उनिहरुको स्वास्थय परिक्षण पछि क्वारेन्टाइनमा पठाईएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । कन्टेनरका चालक शिवनारायण महरालाई समेत क्वारेन्टाईनमा राखिएको छ ।

प्रतिव्यक्ति २ सय रुपैयाँ भाडा लिने गरी चालकले कन्टेनरमा चढाएको यात्रुले बताएका छन् । कन्टेनरमा आएका यात्रु पर्सा, बारा र रौतहटका स्थायी बासिन्दा रहेका छन् । घर छाडेर काठमाण्डौमा मजदुरीका लागि गएका उनीहरु सरकारले लकडाउन गरेपछि अन्य सवारीसाधन नपाएर कन्टेनरमा लुकेर आएको बताएका छन् ।
खाली कन्टेनरमा काठमाडौंबाट लुकेर वीरगन्जसम्म आएका बारा मोतीसरका रमेश बैठाले काम गर्ने पसल बन्द भएपछि साहुले घर जान चेतावनी दिएको हुँदा आफू बाध्यतामा परेर आएको बताएका छन ।

कन्टेनरका चालक महराले यात्रुहरुले बाटो नै छेकेपछि चढाउन बाध्य भएको दाबी गरेका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्लाअधिकारी बस्नेतले लकडाउनमा यात्रु ओसार्ने चालकलाई संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अन्तरगत कारबाही गरिने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button