विदेशबाट फर्केकालाई क्वारेन्टाइनमा राखियो
पर्वत । पर्वतमा विदेशबाट फर्किएकालाई क्वारेण्टाईनमा राखिएको छ ।
जिल्लाको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीका ७ जनालाई होम क्वारेण्टाईनमा राखिएको हो । कोरोनाको विश्वव्यापी त्रास फैलिरहेको बेला विदेबाट आएका मानिसहरुमा संक्रमण हुन सक्ने भएकाले उनीहरुको लगत राखेर होम क्वारेण्टाईनमा राखिएको वडाध्यक्ष जीवन उचै ठकुरीले जानकारी दिनुभयो ।
कतारबाट फर्केका २ जना र भारतबाट फर्केका ५ जनाको पहिचान गरि घरमै क्वारेन्टाईनमा राखिएको ठकुरीले जानकारी दिनुभयो । गाउँमा रोग आउन अरु माध्यम नभएपनि वाहिरबाट आएकाहरुबाट सर्न सक्ने संभावना भएकाले गाउँमा आउनेहरुको बिबरण राखेर उनीहरुको प्रत्यक्ष निगरानी गरिएको ठकुरीले बताउनुभयो ।
कुनै पनि माध्यमबाट रोग आउन नदिन वडाले सचेतना फैलाईरहेका बेला गाउँ फर्किनेहरुबाट चुनौती देखेपछि उनीहरुलाई होम क्वारेण्टाईनमा पठाएको जानकारी दिएको छ । बढि जमघट हुने लुँखु देउराली बजार, अन्य गाउँका चोक र पसलहरुमा मानिसहरुको भीड हुन रोक लगाईएको छ । वडाले निशुल्क रुपमा मास्क वितरण गर्ने काम पनि गरेको छ । नियमित सावुनपानीले हात धुन अनुरोध गर्दै आएको ठकुरीले बताउनुभयो ।
कुश्मा नगरपालिकाले पनि बिदेशबाट फर्किएका मानिसहरुको खोजी गर्न शुरु गरेको छ । वडा कार्यालयहरुले सम्बन्धित वडामा बिदेशबाट आएका व्याक्तिहरुको जानकारी दिन सुचित गरेका छन् । कुश्मा नगरपालिकामा रहेको १४ वटै वडाले सूचना जारी गर्दै बुधबार दिनभरिमा आफ्नो घरमा बिदेशबाट आएका मानिसहरुको जानकारी दिन अनुरोध गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
विदेशबाट फर्किएका व्याक्तिलाई अनिवार्य रुपमा १४ दिन क्वारेण्टाईनमा बस्नुपर्ने भएपनि बिदेशबाट फर्किएका मानिसहरु निर्वाध रुपमा डुल्न थालेपछि स्थानीय सरकारले कडाई गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्