‘लगडाउन’ प्रभाव : जुम्ला सदरमुकाम सुनसान
जुम्ला । नोवल कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले मंगलबार विहानबाट गरेको ‘लगडाउन’ जुम्लामा पनि सफल भएको छ । जुम्लामा चैत १० गतेबाटै शुरु भएको ‘लगडाउन’ले सदरमुकामका सबै होटल, उद्योग सरकारी तथा गैरसरकारी संघस्था बन्द भएपछि सदरमुकाम सुनसान भएको हो । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा हिजोअस्ती फाट्फुट रुपमा दर्शन गर्न जानेहरुपनि आज गएका छैनन् ।
१० गते ‘लगडाउन’ कार्यान्वयन नभएजस्तो भएपनि मंगलबार विहानैबाट लगडाउन पुर्णरुपमा कार्यान्वयन भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनु भयो । उहाँका अनुसार घर बाहिर नआउन अनुरोध गरेका छौ, चोकचोकमा प्रहरी पनि खटाएका छौ, यदि कसैले अटेरी गरे नियम अनुसार कारबाहि गरिने जानकारी दिनुभयो ।
लामो तथा छोटो दुरीका सबै सवारी समेत ठप्प भएका छन् । विहान ६ देखि ९ बजे र साँझ ४ देखि ६ बजेसम्म मात्रै अत्याआबश्यक कामका लागि आवतजावत गर्न भनिएको छ । आगामी चैत १६ गते सम्पूर्णरुपमा घर बाहिर नआउन समेत आग्रह गरिएको छ ।
सोमबारसम्म संचालनमा रहेका सम्पुर्ण होटल व्यवसाय, खुद्रा तथा डिलर सबै बन्द भएका छन् ।
अत्याआबश्यका काममा सवारी चलाउनका लागि पास अनिवार्य लिनुपर्ने समेत व्यवस्था गरिएको छ । आगामी चैत १६ गते सम्म ‘लगडाउन’को निर्णयलाई कार्यान्वयनका लागि अनुरोध समेत गरिएको छ । त्यसका साथै साविक कर्णालीका कालिकोट, मुगु हुम्ला र डोल्पामा पनि ‘लगडाउन’ प्रभावकारी रुपमा सफल भएको पाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्