तपाईँ सुन्दै हुनुहुन्छः

मध्यराति देखि पश्चिमी सीमा नाका नजिक भारतीय जंगलमा सयौँ नेपाली अलपत्र

कञ्चनपुर।नेपालको पश्चिमी सीमा नाका गड्डाचौकी भन्दा करीब ५ किलोमिटर पर भारतीय जंगलमा नेपाल फर्किरहेका सयौँ नेपाली पुनः अलपत्र अवस्थामा रहेको खबर प्राप्त भएको छ । मंगलबार बिहान प्राप्त खबर अनुसार, रोजगारीका लागि भारत गई प्रायः परिवारजन सहित त्यही बसिरहेका नेपालीहरुलाई रोजगारदाता कम्पनीहरुले बिदा गरी घर जान भनेपछि नेपाल फर्किरहेका उनीहरु भारतीय जंगलमा अलपत्र परेका हुन् । भारतका विभिन्न शहरहरुबाट थुप्रै बाधाव्यवधानको सामना गर्दै स्वदेश फर्किने क्रममा करीब ३ सय भन्दाबढी नेपालीहरुलाई मध्यरातयता भारतीय प्रहरीले बनबासा जंगल क्षेत्रमा रोकेपछि उनीहरु थप संकटमा परेका हुन् ।

भारतीय प्रहरीले सोमबार साँझसम्म नेपालीहरुलाई निर्वाध रुपमा फर्किन दिएको भएपनि भारतमा जनता कर्फ्यु र नेपालमा निषेधाज्ञा जारी भएपछि मध्यरातिदेखि भारतीय प्रहरीले उनीहरुलाई रोकेको हो । भारतीय प्रहरीले नेपाल सरकारले आग्रह गरेमा मात्रै प्रतिव्यक्ति भारु २० रुपैयाका दरले शुल्क लिई नेपाल–भारत सीमा क्षेत्रसम्म पुर्याइदिने जनाएको छ । उनीहरु अन्कन्टार जंगलको बीच बाटोमा भोकभोकै बसिरहेको बताइएको छ । प्रायः बालबालिका, गर्भवती महिला र वृद्धवृद्धा भएकोले उनीहरु थप संकटमा परेका छन् । नेपाल पुगेर क्वारेन्टाइनमा बस्नु परेपनि बस्ने बताउँदै उनीहरुले भारतबाट जसरी भएपनि नेपाली भूमिमा पुग्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।

यता, भारतका विभिन्न क्षेत्रबाट उपचार गरेर घर फर्किरहेका ५६ जना नेपालीहरुलाई गड्डाचौकी नाकामा रोकिएको छ । संघीय सरकारले चैत्र १० गते देखि नै भारत र चीनसंग जोडिएका सबै नाका बन्द गर्ने र मंगलबार बिहान ६ बजेदेखि देशभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । यद्यपी स्वदेश फर्किने नेपालीहरु भने नियमित रुपमा सीमा नाकासम्म आइरहेका छन् । भारतीय क्षेत्रमा अपलत्र परेका नेपालीहरूको उद्धार गरी स्वास्थ्य परीक्षण सहित आवश्यक व्यवस्थापनका लागि सरोकारवाला निकायले पहल गर्नुपर्ने आमसर्वसाधारणको धारणा रहेको छ ।

यस सन्दर्भमा कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भारतीय जंगलमा अलपत्र अवस्थामा रहेका र औषधोपचार गरी फर्किरहेका नेपालीहरुको उद्धारका लागि तत्काल केही गर्न सकिने अवस्था नरहेको बताउनु भयो । नेपाल र भारत दुवै तर्फ आवागमन बन्द रहेको जानकारी हुँदाहुँदै किन जोखिमपूर्ण यात्रा गरिरहेका छन् भनी प्रश्न गर्दै तत्काल कुनै उपाय नभएकोले सोही स्थानमा आफ्नो सुरक्षित रहन उहाँले आग्रह गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी खतिवडाले माथिल्लो निकायबाट निर्णय भई निर्देशन आएको खण्डमा उनीहरुलाई नेपाल ल्याउन सकिने हुँदा आफु पनि माथिल्लो निकायको निर्णयको पर्खाइमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button