तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा कोरोना बिरुद्ध आपतकालीन कोष स्थापना


मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरले जिल्लामा कोरोना बिरुद्ध २५ लाख बराबरको कोरोना आपतकालीन कोष स्थापना गरेको छ । सोमबार जिल्ला समन्वय समिति मकवानपुरमा बसेको स्थानीय तह समन्वय बैठकले जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कोषमा जिल्ला समन्वय समितिले २ लाख र मकवानपुरका १० वटै स्थानीय तहले दुई/दुई लाख तथा प्रदेश सरकारको समेत सहयोग रहने गरि तत्काल २५ लाखको आपतकालिन कोष स्थापना गर्ने निर्णय भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । कोषको रकम कोरोना रोकथामका निम्ति लड्न आवश्यक व्यक्तिगत सुरक्षा सामग्री(पीपीई), स्वास्थ्य उपकरणका साथै क्वारेन्टाइन र आइसोलेसन निर्माण लगायत अत्यावश्यक सामग्री र स्वास्थ्य व्यवस्थाको प्रबन्ध मिलाउन खर्च गरिने उहाँले बताउनुभयो । तत्कालका लागि २५ लाखको कोष स्थापना गरिने तथा स्थानीय तहहरुले आवश्यक्ता अनुसार रकम थप गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहको आफ्नै आपतकालिन कोष भएता पनि स्थानीय तहले जिल्लामा समेत कोषको आवश्यक्ता महसुस गरेको र स्थानीय तहसंगको सल्लाह बमोजिम नै कोष स्थापना भएको उहाँले जानकारी दिनुभयो । कोरोना आपतकालीन कोषमा ईच्छा हुने अन्य व्यक्तिले समेत सहयोग गर्न सक्ने प्रमुख खुलालले बताउनुभएको छ ।

त्यस्तै बैठकले आम रुपले सर्वसाधारणलाई १४ दिन सम्म घरमै बस्न बिशेष आव्हान गर्ने, स्थानिय तहमा वडा तहका जनप्रतिनिधिहरुले बाहिरबाट आउने व्यक्तिको निगरानि गर्ने, सबै स्थानीय तहले अत्आवश्यक बाहेकका परल बन्द गर्न आव्हान गर्ने, हेटौंडाको बुद्धचोकमा हरेक दिन बिहान हुने भिडभाडलाई हुन नदिने, स्थानीय तहहरुले भिडभाड हुन नदिने, अन्तर जिल्ला सार्वजनीक सवारी आवागमन बन्द गर्ने, स्थानीय तहहरुले नदि जन्य पदार्थ उत्खनन् केहि दिनका लागि स्थगित गर्न आव्हान गर्ने, अस्पतालमा भिडभाड हुने भएकाले सामान्य खालका बिरामीहरु अस्पतालमा नजाने, समझदारी÷जिम्मेवारी र जानकारी लिएर मात्र सामाजिक संजाल तथा समाचार संप्रेषण गर्ने तथा आतङकित नबनाउने, संघीय तथा प्रदेश सरकारको निर्णयको परिपालना गर्न सम्पुर्णमा आव्हान गर्नेलगायतका निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख खुलालको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख भगवती पुडासैनी, मकवानपुरका १० वटै पलिकाका प्रमुख/उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित तीनबटै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयका प्रमुख एवम् प्रतिनिधि, उद्योग संघ, उद्योग बाणिज्य संघका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button