दोलखामा ‘सेमि लक डाउन’
दोलखा । कोरोना भाईरस (कोभिन-१९) को उच्च जोखिमलाई मध्यनजर गर्दै दोलखा जिल्लालाई सेमि लक डाउन गरिएको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलको अध्यक्षतामा सोमवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दोलखालाई सेमि लक डाउन गर्ने निर्णय गरेको हो ।
सोमवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दैनिक उपभोग्य सामान, राहत उद्दार कार्यमा संलग्न यातायात, खाद्यान्न, किनारा, औषधि, पानी, पेट्रोल पम्प, तरकारी पसल, दुध डेरी, होटल बाहेक अन्य पसल, व्यवसाय, उद्योग बन्द गर्ने, दोलखा जिल्ला प्रवेश गर्ने रामेछापसंग को सिमाना किर्नेटार र सिन्धुपाल्चोक संगको खरीढुङ्गा नाकामा प्रहरी र स्वास्थ्यकर्मी सहितको टिमले कडाईका साथ चेकजाँचको व्यवस्था मिलाई अभिलेख तयार गरी अत्यावश्यक मानिसलाई मात्र प्रवेश गर्न दिने, सर्वसाधारण नागरिकलाई अत्यावश्यक उपचार बाहेक अन्य कामको लागि घर बाहिर ननिस्कन अनुरोध गर्ने र काम बाहेक सडकमा घुमफिर गर्ने, चोक बजारमा भिडभाड गरेमा प्रहरीले अनुगमन र चेकजाँच गरी नियन्त्रणमा लिने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले जिल्लामा रहेको केवलकार, सिनेमा हल, हाटबजार पूर्ण रुपमा बन्द गर्ने र मठ मन्दिरमा नियमीत पुजा बाहेक अन्य पुजा बन्द गर्ने, सबै सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत सबै कर्मचारीहरुले आ आफ्नो कार्यालयमा उपस्थित भै आवश्यक सेवा प्रवाह गर्ने, सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा गलत र भ्रामक अफवाह फैलाउने सूचना प्रकाशन नगर्न अनुरोध गर्ने, बजार अनुगमन समितिलाई क्रियाशील बनाउने निर्णय गरेको छ ।
जिल्लाका स्थानियले भने समितिको निर्णयले जोखिम कायमै रहने देखिएको प्रतिक्रिया दिएका छन् । नागरिक अभियन्ता एवं कानुन व्यवसायी कृष्ण वस्नेत संक्रमणको खतरा रहने होटल खुला गर्ने, आवश्यक मानिसलाई आवतजावत गर्न दिने, किनारा पसल खोल्ने जस्ता निर्णयले कोरोना संक्रमणको जोखिम नघटाउने बताउनुभयो । जोखिम कम गर्न अत्यावसेक सेवा वाहेक सम्पूर्ण कुरा बन्द गरेर जिल्लालाई पूर्ण रुपमा लक डाउन गर्नु पर्ने वस्नेत बताउनु हुन्छ ।
समितिको बैठकले सथानिय तहलाई कोरोना भाईरस नियन्त्रण तथा विपद् व्यवस्थापन समिति गठन गरी कम्तिमा पाँच वटा थर्मल गन र अत्यावश्यक उपकरण सहित पाँच सय देखि एक हजार जनासम्म अट्न सक्ने क्वारेन्टाईनको व्यवस्था गर्न अनुरोध गरेको छ । जिल्ला सदरमुकामको असतालहरुले आईसोलेसन बेडको व्यवस्था गरेको भनेपनि त्यसमा आवश्यक उपकरण र सुरक्षित रुपमा स्वास्थ्यकर्मी परिचालन गर्ने अवस्था नभएको स्वास्थ्यकर्मीहरुले नै गुनासो गरेका छन् ।
कतिपय सहकारी संस्था र व्यवसायीहरुले स्थानिय प्रशासनले स्पष्ट निर्देशन नदिए पनि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत्र २१ गतेसम्म बन्द गर्ने निर्णय गरेका छन् । सदरमुकाम चरिकोटमा सञ्चालनमा रहेका बैङ्क तथा वित्तिय संस्थाहरुले सामान्य सचेतना अपनाएको भएपनि भिडभाड कायमै रहेकोले जोखिम उच्च देखिएको छ ।
दोलखा जिल्लामा आईतवार र सोमवार भारतको बिभिन्न ठाँउबाट अत्याधिक मानिस फर्किएको बस व्यवसायीहरुले बताएका छन् । तर उनीहरुको सामान्य स्वास्थ्य परिक्षण बाहेक अन्य कुनै तथ्याङ्क नराखिएको बस व्यवसायीहरुले बताए । स्थानिय प्रशासन र स्थानिय तहहरुले दोलखा जिल्लामा भारत लगायतको मुलुकबाट भित्रिएका मानिसको तथ्याङ्क संकलन र अवस्था बारे कुनै चासो नदिएको स्थानियले गुनासो गरेका छन् । दोलखामा मुख्य जोखिमको रुपमा देखिएको अन्य देशबाट आएका नागरिकको बारेमा तथ्याङ्क संकलन गरी उनीहरुको अवस्थाका बारेमा जानकारी लिनुपर्ने नागरिक अभियन्ता कृष्ण वस्नेत बताउनु हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्