१ अर्बको लगानीमा ह्याचरी उद्योग सञ्चालन
हेटौंडा । मकवानपुरको हेटौंडामा १ अर्बको लगानीमा ह्याचरी उद्योग सञ्चालनमा आएको छ ।
वीरगंजको औद्योगिक घराना रुगंटा समुहले हेटौंडा–४ हटियामा सञ्चालनमा ल्याएको पोषक ब्रिडर्स उद्योगले सातामा झण्डै ५० हजार ब्रोइलर कुखुराको चल्ला उत्पादन गरिरहेको उद्योगले जनाएको छ ।
गत वर्ष जुनमा थाइल्याण्डबाट ४० हजार ब्रोइलर कुखुराको प्यारेन्ट्स ल्याई आधुनिक खोरमा राखिएको थियो । ४० हजार कुखुराबाट दैनिक ११ हजार अन्डा उत्पादन हुने गरेको छ भने सातामा दुई पल्ट संकलन गरिएको अन्डा ह्याचरीमा राखिन्छ ।
साताको ७७ हजार अन्डाबाट करिब ३ प्रतिशत नष्ट हुने गरेको र बाँकी अन्डाबाट करिब ५० हजारको हाराहारीमा चल्ला उत्पादन भइरहेको उद्योगका सञ्चालक राजेश रुगंटाले जानकारी दिनु भयो ।
दुई वर्ष पहिले करिब २५ विघा क्षेत्रफलमा अत्याधुनिक खोर निर्माण गरी ह्याचरी निर्माण गरिएको थियो । उद्योगमा अहिले ४० जना भन्दा बढीले रोजगारी पाएका छन् भने उत्पादित कुखुराको चल्ला काठमाडौं, मकवानपुर, चितवन तथा प्रदेश २ को आठ जिल्लामा खपत भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्