तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंका पाँच ठाउँमा वाटर एटीएम जडान गरिने

काठमाडौं महानगरपालिका र खानेपानी मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड बीच महानगर क्षेत्र भित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ ।

आम मानिसलाई काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरुमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्नका लागि वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको हो ।

महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डका तर्फबाट कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्र भित्रका धुम्बाराहीको शंखपार्क, स्वयम्भूको भुइँखेल, बालाजु पार्क, वडा नं. २८ को शंखधर पार्क र मीनभवनको ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम राखिनेछ ।

तीन वर्षका लागि भएको सम्झौता अनुसार महानगरपालिकाले वाटर एटीएम राख्ने स्थान उपलब्ध गराउने छ भने त्यसको सुरक्षा र बत्तीको पनि व्यवस्था महानगरपालिकाले नै गर्ने काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड जनाएको छ ।

यो सम्झौतासँगै अब महानगरवासीले प्रति २ सय मिलीलिटर पानीका लागि जम्मा एक रुपैयाँ तिरे पुग्नेछ । वाटर एटिएममै व्यवस्था गरेको कागजबाट निर्मित २ सय मिली लिटरको कप प्रयोग गर्न चाहेमा कपको छुट्टै एक रुपैया लाग्ने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कप प्रयोग नगरी आफ्नै बोटलमा पानी थाप्न चाहे प्रतिलिटर पानीको पाँच रुपैयाँ तिरे पुग्छ । यो सेवाले एक बोटल पानीको २०–२५ रुपैयाँ तिर्नु पर्ने बाध्यतामा पनि कमी आउनेछ ।

महानगरपालिकाले तोकेका स्थानमा बोर्डले ३ महिनाको सञ्चालन र मर्मत खर्चसहित प्रति एटिएम १५ लाख ८६ हजारको लागतमा पाँच ओटा राख्ने छ ।

महानगर प्रमुख शाक्यले काठमाडौँमा पानीको हाहाकार भइरहेका बेला महानगरवासीलाई स्वच्छ र गुणस्तरीय पानी पिउने व्यवस्था गर्नका लागि यो प्रयासको थालनी गरेको र यो सेवालाई भोलिका दिनमा थप विस्तार गरेर ३२ वटै वडामा पुर्याउने लक्ष्य रहेको जानकारी दिनु भयो ।

बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणाले उपत्यकाका १५ स्थानमा यस्ता मिसिन राख्ने योजना अनुसार नै पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्रभित्र पाँच स्थानमा राख्न लागेको बताउनुभयो । अहिले हरेक वाटर एटिएममा पाँच हजार लिटरको ट्याङ्की राख्ने र मेलम्चीको पाइप जडानपछि सोझै त्यहाँको पानी राख्ने व्यवस्था गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button