सीमा नाकामा प्रभावकारी परीक्षणको व्यवस्था गर्न सरकारलाई निर्देशन
संघीय संसदको राज्यको निर्देशक शिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक उपचार सामग्री र स्वास्थ्यकर्मीको समुचित व्यवस्था गरी सहज प्राप्तिको बन्दोबस्त गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरवारम बसेको बैठकले सरकारलाई उपचार कक्षको यथोचित व्यवस्था गर्न, दक्षिणि सिमानाका लगायतका सवै सिमा नाकाहरुमा आवतजावत गर्नेहरुको प्रभावकारी रुपमा स्वास्थ्य परीक्षण गर्न र निगरानी बढाउन निर्देशन दिएको हो ।
समितिले विदेशी नागरिकहरुलाई नेपाल आउन पूर्ण रुपमा रोक लगाउन र नेपालीहरु विदेशबाट आउदा स्वास्थ्य परीक्षण गर्नुका साथै क्वारेन्टाइनमा बस्ने व्यवस्था अनिवार्य गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।
यस्तै संक्रमणका समयमा आउन सक्ने अन्य सुरक्षा चुनौतिको समाधानका लागि सम्पूर्ण सुरक्षा व्यवस्था गर्न र बाह्य देशहरुबाट दिने भनेको स्रोत र सहयोग लिने र त्यसलाई शीघ्र परिचालन गर्न समेत सरकालाई निर्देशन दिएको हो ।
बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ को नियन्त्रणका लागि चिनियाँ मोडेलमा जाँने तयारी गरिरहेको जानकारी दिनु भयो ।
मन्त्री भट्टले कोरोना संक्रमण नियन्त्रणमा सरकारले विशेष पहल गरिरहेको, नेपाली सेनाले काम गरिरहेको र उपलब्ध स्वास्थ्य सामग्री यथासक्य आवश्यक स्थानमा पुर्याउने काम भैरहेको बताउनुभयो ।
मन्त्री भट्टले भारतबाट मानिसहरु नेपाल आउने क्रम कल्पना गरे भन्दा बढी देखिएको भन्दै नेपालको दक्षिणी सिमानाकहरु निश्चित समयका लागि बन्द गर्ने विषयमा छलफल भइरहेको समेत बताउनु भयो ।
संकटका बेलामा कालोबजारी गर्नेलाई कानुन अनुसार जरिवाना र कार्वाही गर्ने काम भइरहेको र कालोबजारी रोक्न सरकारले प्रभावकारी अनुगमनको व्यवस्था गरेको समेत मन्त्री भट्टले जानकारी दिनुभायो ।
उहाँले भारतबाट आवश्यक सामग्री सहज रुपमा आयात भैरहेको भन्दै चिनको सिमा नाका रोकिएका करिब २०० कन्टेनरका सामाग्री नेपाल ल्याउने विषयमा पहल भैरहेको समेत बताउनुभयो ।
बैठकमा सांसदहरुले सिमानामा आवत जावत बढेकाले त्यहाँको सुरक्षा व्यवस्था र चेकजाँच प्रभावकारी बनाउनु पर्ने, सम्पूर्ण अन्तराष्ट्रिय उडान रोक्नु पर्ने, स्वास्थ्य सामाग्रीको उचित प्रवन्ध सँगै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्