निमोनिया र ज्वरोका बिरामीको तथ्याङ्क संकलन गरिने
स्वास्थ्य विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोरोना भाईरसको संक्रमण भए–नभएको निश्चित गर्न ज्वरो र निमोनियाका विरामीहरूको तथ्याङ्क संकलन गर्ने भएको छ ।
महाशाखाले आज काठमाडौमा पत्रकार सम्मेलन गरी नेपालमा कोरोना भाईरसको संक्रमण भित्रन नदिन सरकारले गरेको व्यवस्था तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको नमूना परीक्षणको विश्वसनीयता परीक्षण गर्न ज्वरो तथा कडा खालका निमोनियाका बिरामीहरूको तथ्याङ्क संकलन गर्न लागेको जानकारी दिएको हो ।
तथ्याङ्क संकलनका लागि १८ जना विज्ञहरूको टोली खटाइएको र उनीहरूले देशका विभिन्न अस्पताल, होटल तथा पछिल्लो समय विदेशबाट नेपाल आएर होम क्वारेन्टाइनमा बस्ने फारम भरेका व्यक्तिहरू बसोबास गर्ने क्षेत्र बिरामीको तथ्याङ्क संकलन गर्ने महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
कोरोना भाईरसको नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरू तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नमूना परीक्षण क्षमता प्रति आम नागरिकलाई विश्वास दिलउन समेत तथ्याङ्कले सहयोग गर्ने निर्देशक पाण्डले बताउनुभयो ।
यसैगरी उहाँले सामाजिक सञ्जालमा फैलने अफवाह र भ्रमपूर्ण समाचारमा विश्वास नगर्न र कोरोना भाईरसका सम्बन्धमा कुनै जानकारी आवश्यक भएमा विभागले सञ्चालनमा ल्याएको कल सेन्टरको नम्बर १११५ मा सम्पर्क गर्न समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्