तपाईँ सुन्दै हुनुहुन्छः

जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा थप शुल्क नलाग्ने

फाइल तस्बिर

काठमाडौँ  । नेपालमा अब जुनसुकै बैंकको एटिएम कार्डले जुनसुकै एटीएमबाट रकम निकाल्दा पैसा नलाग्ने भएको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको संयुक्त बैंठकले त्यस्तो निर्णय गरेको नेपाल बैकर्स संघले जनाएको छ । साथै अबदेखि डिजिटल कारोबार गर्दा पनि रकम नलाग्ने व्यवस्था भएको छ ।

वर्तमान संकटको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ सेवा नियमित गर्ने भएका छन् । अत्यावश्यक सेवामा पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाका सबै कार्यालयहरु खुला राख्ने निर्णय भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो ।

उहाँले बैंकका सबै कार्यालयहरु खुलै रहेपनि सकेसम्म डिजिटल कारोबार गर्न उपभोक्ताहरु र सेवाग्रहीहरुलाई आग्रह गर्नुभयो ।
यी व्यवस्थासँगै अब इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्दा सेवा शुल्क लाग्ने छैन् । त्यसैले बैंकको शाखामा पुगेरभन्दा घरमै बसेर कारोबार गर्न पनि नेपाल बैंकर्स संघले आग्रह गरेको छ ।

बैठकले बैंकका हरेक शाखा कार्यालयहरुमा सावधानीका लागि हृयाण्ड स्यानिटाइजर तथा मास्क राख्न अनुरोध गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।

बैकर्स संघको शुक्रबारको बैठकले जुनसुकै बैंकको एटिएमबाट पनि रकम निकाल्दा पैसा निकाल्न पैसा नपर्ने, एक बैंकको ग्राहकले अर्को बैंकबाट सुविधा लिन सक्ने लगायतको व्यवस्था गरेका कारण एउटै बैंकमा भिडभाड नहुने अपेक्षा पनि अध्यक्ष दाहालले गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button