माथिल्लो तामाकोसी आयोजनाको काममा कोरोनाको प्रभाव छैन
दोलखा । बाँध लगायत हेडवर्कसको प्राविधिक परिक्षण गरिरहेको माथिल्लो तामाकोसी आयोजनाको काममा अहिलेसम्म कोरोना भाईरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताउनु भयो ।
स्वदेशी लगानिमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा अहिले बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलग लगायत अन्य हेडवर्कसका संरचनाहरुको प्राविधिक परिक्षण सुरु भै रहेको आयोजनाले जनाएको छ । परिक्षणको क्रममा बाँधमा पानी राखेर परिक्षण सुरु गरिएको र अहिलेसम्म को परिक्षण राम्रो रहेको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताउनु भयो । परिक्षणको काम आवश्यकता अनुसार दुई हप्तासम्म चल्न सक्ने परिक्षणमा संलग्न प्राविधिकहरुले बताउनु भएको छ ।
आयोजनामा मुख्य कामदार र प्राविधिकहरु चिनिया, इटलियन र भारतिय नागरिकहरु रहेका छन् । तर उनीहरु कोरोनाको समस्या हुनु अघिदेखिनै निरन्तर आयोजनाको काममानै रहेकोले समस्या नभएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनु भयो । आयोजनामा ठेकेदार कम्पनिको काममा अहिलेसम्म समस्या नभएपनि कन्सल्टेन्टको काममा भने केहि समस्या देखिएको छ । कोरोना भाईरसको प्रकोप पछि आयोजनाको कन्सल्टेन्ट कम्पनिमा काम गर्ने विज्ञ, प्राविधिकहरुले अहिले आफ्नै घरबाट निर्देशन गरिरहेको आयोजनाले जनाएको छ ।
नेपालमा कोरोनाको समस्या नरहेको र आयोजनामा काम गर्ने कामदार, प्राविधिकहरु कोरोना प्रकोप अघिदेखिनै काममा रहेकोले समस्या नभएको तर आईतवार देखि भने आयोजनाको भ्रमणमा बाहिरको मानिसलाई आउन नदिईने आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ बताउनु हुन्छ ।
आयोजनाको काम अहिलेसम्म ९९ दशमलब ४ प्रतिशत सकिएको र आगामी असार भित्र एउटा टर्वाईनबाट ७६ मेगावाट परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ काम भै रहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनु भयो । आयोजनामा ६ वटा टर्वाईन रहेको र प्रत्येक टर्वाईनबाट ७६ मेगावाट विद्युत उत्पादन हुने पनि आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनु भयो ।
२०६७ भाद्र १७ गते वाट मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको यस आयोजनामा २०७२ वैशाख महिनामा गएको विनाशकारी भूकम्प र त्यसपछिको तराई आन्दोलन तथा लामोसाँघु चरिकोट सडकको स्तरोन्नतीको कारणले निर्माण सम्पन्न हुने अवधीमा विलम्व हुन गएको आयोजना प्रमुख दिनेशजंग राणाले बताउनु भयो । वर्तमान कार्य प्रगतिको आधारमा यस आयोजनाबाट २०७७ को अषाढ मसान्त या साउन पहिलो साता भित्र परिक्षण उत्पादन सुरु गरिने र कुनै समस्या नभए त्यसले निरन्तरता पाउने आयोजना प्रमुख राणाको भनाई छ । दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरमा निमार्णाधिन ४५६ मेगावाटको यो आयोजनाको लागि ब्याज बाहेक ४९ अर्व २९ करोड लागत प्रक्षेपित गरिएको जनाईएको छ ।
प्रतिक्रिया राख्नुहोस्