कोरोनाका बारेमा भ्रम फैलाउने विरूद्ध प्रहरी सक्रिय
केशव ढुंगाना/अर्जुन श्रेष्ठ । नेपाल प्रहरीले कोरोना भाईरसको विषयमा सामाजिक सञ्जाल लगायतका विभिन्न माध्यमबाट गलत प्रचार तथा अफवाह फैलाउने माथि निगरानी र कारवाहीको प्रकृया अगाडि बढाएको छ ।
आम सर्वसाधारणमा भय र त्रास फैलाउने गरी सामाजिक सञ्जाल मार्फत झुट्टा समाचार तथा विभिन्न सामग्रीहरूको प्रचारप्रसार हुन थालेपछि प्रहरीले अनुसन्धान तथा कारवाहीको प्रकृया अगाडि बढाएको नेपाल प्रहरीका प्रवक्ता शैलेश कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
प्रहरीले भ्रम तथा अफवाह फैलाउनेलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने जानकारी दिनुहुँदै प्रवक्ता थापाले सामाजिक सञ्जालहरूमा आएका भ्रामक समाचार तथा अन्य सामग्रीहरू लाईक, र सेयर नगर्न समेत सबैसंग आग्रह गर्नुभयो ।
प्रहरी प्रवक्ता थापाले काठमाडौंको नर्भिक अस्पताल, शिक्षण अस्पताल लगायतमा कोरोनाका विरामीहरू भेटिएको भनी सामाजिक सञ्जालमा अडियो सेयर गरी भ्रम फैलाएको अभियोगमा रामेछाप घर भएका २० वर्षीय विवेक थापामगरलाई भक्तपूरबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको समेत जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा भ्रामक अडियो आएपछि नर्भिक अस्पताल थापाथलीले आज एक विज्ञप्ती जारी गरी हाल सम्म अस्पतालमा भर्ना भएका कुनै पनि विरामीमा कोरोना भाईरसको संक्रमण नभेटिएको स्पष्ट पारेको छ ।
अस्पतालका नायव महाप्रवन्धक आर पि मैनालीद्वारा जारी विज्ञप्तीमा जनस्वास्थ्यसंग जोडिएको विषयमा भ्रम तथा अफवाह फैलाउने माथि छानविन गरी कारवाही गर्न समेत माग गरिएको छ ।
कोरोना बिरुद्ध सेनाले किटनाशक औषधि छर्किदैं भन्ने सामाजिक सञ्जालमा फैलिएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले औषधि छर्किदै भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नभएको प्रष्ट पार्दै हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।
अहिलेको संवेदनशिल अवस्थामा भ्रामक, झुट्टा र मनगडन्ते समाचारको विश्वास नर्गन नेपाली सेनाले सबैमा आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्