तल्लो साञ्जेन विद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले निर्माण गरिरहेको ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेन विद्युत आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भै सुरङ ‘ब्रेक थ्रु’ भएको छ ।
आयोजनाको कूल तीन हजार ६७३ मिटर लामो मुख्य सुरुङ शुक्रबार निर्माण सम्पन्न भएको साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजनाको प्रमुख र महत्वपूर्ण मानिएको सुरुङ निर्माण कार्य सम्पन्न भए पनि अब सुरुङको ढलान तथा मर्मतको काम अगाडि बढाइनेछ । सो कार्यका लागि कम्तीमा आठ महिना समय लाग्नेछ । हाल आयोजनाको भौतिक निर्माण झण्डै ७८ प्रतिशतको हाराहारीमा पुगेको छ ।
यस्तै आयोजनाको बाँध क्षेत्रको भौतिक निर्माण यसअघि नै सम्पन्न भएको छ । हाल विद्युत् गृह निर्माण तथा टेलरेस सुरुङमा पाइप जडान लगायतका काम भने जारी रहेको आयोजनाले जनाएको छ ।
तल्लो साञ्जेनबाट आगामी कात्तिकदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्