तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यका बाहिरिनेको चाप बढ्यो

Image result for उपत्यका बाहिरिनेको चाप बढ्यो

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) को त्रासले काठमाडौँ उपत्यकाबाट बाहिर जानेको सङ्ख्या एक्कासि बढेको छ । शुक्रबार करिब डेढ लाख जना उपत्यका बाहिर गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यात्रुले भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीबिना यात्रा गरेका छन् ।

जिल्ला फर्किनेको भीडले नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला बल्खुलगायतका बसस्टेसनमा दशैँको जस्तै चहलपहल देखिएको छ । बसपार्कमा यात्रुको चाप बढेको छ । लामो दूरीका बसहरूमा टिकट लिनेहरूको लामो लाइन छ । नयाँ बसपार्कमा शुक्रबार लाइन व्यवस्थित गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । शनिबार उपत्यकाबाट बाहिर जाने बस सबै बुक भइसकेको नयाँ बसपार्कले जनाएको छ ।
उपत्यकाबाट बाहिरिने सवारी र सवारी साधनको सङ्ख्या निक्कै बढेको छ । शुक्रबार ६१ हजार चार सय सवारी बाहिरिएका छन् । गएको बुधबार र बिहीबारभन्दा शुक्रबार दोब्बरले यात्रुको चाप बढेको छ । शुक्रबार अनियन्त्रित रूपमै यात्रुको चाप बढेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।Image result for उपत्यका बाहिरिनेको चाप बढ्यो

लामो दूरीको बसमा एकैदिनमा टिकट पाइएको छैन । बुधबार र बिहीबार झन्डै तीन लाख यात्रु बाहिरिएको महासङ्घको दाबी छ । सिटौला भन्नुहुन्छ “एक्कासि अनियन्त्रित तरिकाले यात्रुको चाप बढ्यो, यो आपत्कालीन अवस्था हो, यात्रुले पनि बुझ्नु प¥यो, दशैँको टीका भेटाउन जाने जस्तो गर्नुभएन । ” कोरोनाबाट बच्ने सावधानी भने सवारीसाधनमा अपनाइएको छैन । सिटमा मात्र होइन उभिएरै यात्रा गराइएको छ । टिकट काउन्टरमा कोचाकोच लाइनमा राखिएको छ । एक्कासि चाप बढेकाले सावधानी अपनाउन पनि नसकिएको तर बसमा सावधानीका उपाय अपनाउन लगाइने महासचिव सिटौलाको भनाइ छ ।

सरकारले अति आवश्यक कामबाहेक घर बाहिर ननिस्कन र २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाई एसईईको परीक्षा स्थगित गरी विद्यालय, विश्वविद्यालयको चैत मसान्तसम्म बिदा दिएपछि उपत्यकाबाट बाहिरिनेको सङ्ख्या एक्कासि बढेको हो । यातायात व्यवस्था विभागले सिटभन्दा बढी यात्रु नचढाउन गरेको निर्देशनको बेवास्ता भएको छ ।

बढी भाडा लिनेलाई कारबाही
तोकिएभन्दा बढी भाडा लिएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । काठमाडौँ बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको आरोपमा बारा घर भई बल्खु बस्ने मुकेशप्रसाद साहलगायत ११ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । जथाभावी भाडा उठाउनेलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

भीड कम गर्न ट्राफिक प्रहरी सक्रिय
सङ्क्रमणबाट बच्न महानगरिय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवा सुरु गरेको छ । महाशाखाले यात्रुमाथि हुने जोखिम मध्यनजर गर्दै उपत्यकाका प्रमुख बसपार्क एवं भीडभाड हुने स्थानमा भीड कम गराउन प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली शुक्रबारदेखि खटाइएको छ । महाशाखाका अनुसार विशेष टोलीले सिट क्षमता अनुसारमात्र यात्रु राख्न, यात्रुलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भीडभाड गरी नबस्न विशेष अनुरोध गर्नेछ ।Image result for उपत्यका बाहिरिनेको चाप बढ्यो

महाशाखा तथा मातहतका ट्राफिक कार्यालयबाट उपत्यकाको ८६ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरी यो विशेष अभियान सञ्चालन गरिरहेको महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
सार्वजनिक सवारी साधनलाई कोरोना भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे÷नगरेको तथा सिट क्षमताभन्दा बढी यात्रु राखे÷नराखेको अनुगमन शुक्रबारदेखि तीव्र पारेको महाशाखाले जनाएको छ । महाशाखाका मातहतका ट्राफिक कार्यालयहरूमा पनि आज बिहानैदेखि साबुन–पानीले हात धुने व्यवस्था मिलाउन निर्देशन गरिसकेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button