दोलखामा कोरोना विरुद्ध सचेतना मूलक अभियान
दोलखा । कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दोलखाले बिभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यालयले दैनिक ६ वटा सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्ला ट्राफिक कार्यालयको सहकार्यमा दोलखामा सञ्चालन भएका सार्वजनिक यातायातका चालक, सहचालक र सहयोगीलाई कोरोना भाईरस के हो ? बच्ने उपाए आदीको बारेमा अडियो तथा भिजुयलको माध्यमबाट जानकारी गराई रहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनु भयो । एकै पटक ठूलो संख्यामा जमघन गर्न नमिल्ने भएकोले दैनिक थोरै संख्यामा कार्यक्रम गर्दै आएको प्रहरी नायव उपरीक्षक पोखरेलको भनाई छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयले जिल्ला भरी रहेको प्रहरी यूनिटहरुमा सचेतना मूलक कार्यक्रम, माक्स तथा सेनिटाईजरको प्रयोग, कोरोना भाईरस सम्बन्धि सन्देश मूलक फ्क्स राख्ने अभियान सुरु गरेको जनाएको छ । त्यसैगरी कोरोना भाईरसको संक्रमणबाट जोगिन सार्वजनिक यातायातमा सिट भन्दा बढी मानिस बोक्न नदिने, २५ जना भन्दा बढी मानिसलाई भेला हुन नदिने लगायतको अभियान समेत सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
कार्यालयले दोलखाको सिमाना किर्नेटार र खरीढुङ्गामा हेल्प डेक्स स्थापना गरी यात्रुहरुको रेकर्ड राख्ने, आवश्यकता अनुसार स्वास्थ्यकर्मीहरुको सहयोगमा यात्रुको स्वास्थ्य जाँच गर्ने लगायतका अभियान सुरु गरेको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनु भयो ।
जिल्लामा कोरोना भाईरसको संक्रमण हुन नदिन स्थानिय तहले पनि बिभिन्न अभियानहरु सञ्चालन गरेको छ । भीमेश्वर नगरपालिकाले सदरमुकाम चरिकोटमा प्रस्तावित चरिकोट अस्पतालको सहयोगमा ८ बेडको आईसोलेशन कक्ष सञ्चालन गरेको छ भने दोलखाको गौरीशङ्कर अस्पताल र सदरमुकाम चरिकोटकै च्छो रोल्पा जनरल अस्पताल र सामुदायीक अस्पतालमा समेत आईसोलेशन कक्ष सञ्चालन गरेको नगरप्रमुख भरतबहादुर केसीले बताउनु भयो । प्रस्तावित चरिकोट अस्पतालले शङ्कासपद विरामी आए आईसोलेशनमा राखेर उपचार गर्ने र विरामीको स्वाभ परिक्षणको लागि टेकु पठाउने, उपचारमा आउने विरामीलाई सहज टिकट लिने व्यवस्था गर्ने, कोरोना भाईरसको बारेमा चेतना मूलक अभियान सञ्चालन गर्ने लगायतका काम गरिरहेको प्रस्तावित चरिकोट अस्पतालको प्रमुख डाक्टर रिना लामिछानेले बताउनु भयो । दोलखामा कोरोना परिक्षणको प्रविधि भने नभएकोले शङ्कासपद विरामीको स्वाभ परिक्षणको लागि टेकु पठाउनु पर्ने अवस्था रहेको डाक्टर रिनाले बताउनु भयो ।
त्यसैगरी जिरी नगरपालिकाले कोरोना भाईरसको संभावित संक्रमणलाई ध्यानमा राखेर जिल्ला अस्पताल जिरीको समन्वयमा आईसोलेशन वार्डको व्यवस्था, चेतना मूलक कार्यक्रम र हरेक कार्यालय तथा अस्पतालमा हात धुने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताउनु भयो ।
लखाको विगु, गौरीशङ्कर, कालिञ्चोक, शैलुङ, तामाकोसी, बैतेश्वर र मेलुङ गाँउपालिकाले पनि कोरोना भाईरसको संभावित संक्रमणलाई ध्यान दिदै चेतना मुलक अभियान सञ्चालन, स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन र स्वास्थ्य संस्थाहरुमा व्यवस्थापनको काम गरिरहेको जनाएको छ ।
कोरोनाको संभावित संक्रमणलाई मध्यनजर गर्दै सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर सामुदायीक पुस्तकालय आईतवारबाट दुई हप्ताको लागि बन्द गर्ने निर्णय भएको पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्