तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा आज साँझ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संक्रमण फैलिन नदिन देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधी र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको उल्लेख गनुभयो ।

प्रधानमन्त्री ओलीले महामारीसँग जुध्न हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरूरी भएकाले यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यस बाहेक अर्को विकल्प नरहेको प्रष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरसफाईमा उचित ध्यान दिन, साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्न, भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक बस्तुको अधिक सञ्चय नगर्न, हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुन, चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्न र सावधान हुनु तर आतङ्कित नहुन आग्रह गर्नुभयो ।

उहाँले संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिने तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजी सहित सबै प्रकारका सवारी साधनहरू आवश्यकताअनुसार संचालन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएकोले यस असहज स्थितिमा कालोबजारी र कृतिम अभाव सृजना नर्गन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी यो महामारीले समग्र अर्थ व्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको र अर्थव्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशवासीको स्वास्थ्य र सुरक्षालई ध्यानमा राखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु यही चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने बताउनुभयो ।

देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको र महामारीको अवस्थालाई हेरी, थप कदमहरु पनि चाल्न सकिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश बाहिर रहेका नेपालीहरुलाई यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आपूm रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दै हाम्रा नियोगहरुलेसमस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आव्हान गर्नु भएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाए अनुरुप कोषमा १० करोड रुपियाँ योगदान गर्नेे जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न निजी क्षेत्र, संघसंस्था, दुबै छिमेकी तथा अन्य मित्रराष्ट्रहरू लगायत अन्तर्रा्ष्ट्रिय समुदायहरुबाट हालसम्म प्राप्त सबै प्रकारका सद्भाव तथा सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button