इन्द्रावती र हेलम्बु गाउँपालिकामा परीक्षणपछि मात्रै प्रवेश
मेलम्ची । इन्द्रावती र हेलम्बु गाउँपालिकामा कोरोना भाइरसको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकामा प्रवेश गर्ने स्थानमा पैदल यात्री र सवारी साधनबाट आएका यात्रुहरुको तापक्रम परीक्षण गर्ने गरेको हो ।
इन्द्रावती गाउँपालिकाको गाउक्षेत्रमा टेक्ने जो कोहीलाई स्वास्थ्यकर्मीले साबुन पानीले हात धुन लगाउँछन् । त्यसपछि ‘इन्फारेट थर्मो्मिटर’बाट तापक्रम मापन गरेपछि मात्रै इन्द्रावती गाउँपालिकामा ‘हजुरहरुलाई स्वागतम’ भन्दै गर्दै कोरोनाबारे सचेतना दिइन्छ ।
इन्द्रावतीमा आउने जो कोही र गाउँपालिकाबाट दिइने प्रत्येक सेवा लिनुअघि कोरोना परिक्षण गरेर मात्रै आउन दिइएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो ।
‘गाउँपालिकाभर कोरोना सचेतना दिएर स्वास्थ्यकर्मीसँग आफै खटिरहेका छौ, यसबाट पूर्व सावधानी अपनाउन जुटिरहेका हौ,’नवलपुर बजारमा आफै सचेतना कार्यक्रममा खटिरहेका उहाँले भन्नुभयोे । गाउँपालिकाभर साबुन पानीले हात धुदैँ कोरोनाबारे सचेत रहन अनिवार्य गरेर दुई वटा ‘इन्फारेट थर्मो्मिटर’बाट धमाधम तापक्रम परिक्षण गरिरहेको छ ।
सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाँडेगाउँ, सिपापोखरे, भोटसिपा, भिमटारसम्म आफै स्थलगत पुगेर कोरोना सचेतना गर्न जनप्रतिनिधि एकजुट भएर लागिरहेका छन् ।
त्यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार हेलम्बु प्रवेश गर्ने स्थानमा यात्रुको तापमान गरिएको छ ।
स्वास्थ्यकर्मीको सहायताबाट जरो नाप्दै हात धुन सिकाउने गरेको उहाँले बताउनुभयो । गाउँभर कोरोनाबारे जनचेतना अभियानसमेत सुरु गरिएको उहाँको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्